काठमाडौं – रोहित अधिकारी फिल्म्स प्रा. लि. को ब्यानरमा निर्मित चलचित्र ‘माइतीघर’को फस्टलुक सार्वजनिक गरिएको छ। चलचित्रको निर्माण पक्षले मुख्य कलाकारहरूको सामूहिक तस्बिर समेटेर फस्टलुक पोस्टर तयार पारेको हो।
मिलन तामाङ निर्देशित यस चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी रहेको छ। ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माताको रूपमा रहेका छन् भने चलचित्रको कथा चन्द्रकुमार दोङले लेखेका हुन्। यसको पटकथा र संवाद रामशरण पाठकले तयार पारेका छन्।

दसैँको फूलपातीको अवसर पारेर आगामी असोज १३ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा लगायतका कलाकारहरूको अभिनय रहेको छ। सुशन प्रजापतिको छायाङ्कन रहेको यस चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्। चलचित्रमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी. योगी र स्वर्गीय जयदेवको सङ्गीत रहेको छ।
फस्टलुक पोस्टरमा कलाकारहरूलाई उनीहरूको पात्र अनुरूप प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएको उज्यालो घरले ‘माइतीघर’को कथावस्तुलाई सङ्केत गरेको बुझ्न सकिन्छ। निर्माण पक्षका अनुसार, यस चलचित्रले तामाङ समुदायको संस्कृति र कथालाई प्रमुखताका साथ उठान गरेको छ।




