
काठमाडौं – निर्देशक यम शेर्पाको नयाँ चलचित्र ‘मिरमिरे’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षले नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर चलचित्र आउँदो माघ १ गतेबाट देशभर प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।
यार्सा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन् । चलचित्रमा दयाहाङ र प्रकाशले पहिलो पटक सँगै काम गरेका हुन् । यसअघि यम शेर्पाले निर्देशन गरेको पहिलो चलचित्र ‘कार्साङ’ मा पनि दयाहाङ मुख्य कलाकार थिए ।
हाल मकवानपुरको चित्लाङमा छायाङ्कन भइरहेको चलचित्रको सुटिङ लगभग दुई सातामा सकिने निर्माण टोलीले जनाएको छ । असार २१ गतेबाट सुरु भएको छायाङ्कन अधिकांश काभ्रेपलान्चोक र केही भाग चित्लाङमा गरिएको हो ।
माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारहरूको पनि अभिनय रहेको चलचित्रमा बालकालकारहरू शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । यम शेर्पाले निर्देशनका साथै चलचित्रको कथा पनि आफैँले लेखेका हुन् । चलचित्रका छायाकार आलोक सुक्ला हुन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’ मा गोविन्द बोहरा र सुदिप कुँवर सह–निर्माता छन् ।





