‘बुकी’को पोस्टर: लेकाली कथामा भलिबल र प्रकृतिको तालमेल



काठमाडौं – लेकाली परिवेश र खेलकुदको कथामा आधारित चलचित्र ‘बुकी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। मोहन केसीद्वारा निर्देशित यस चलचित्रको पोस्टरले दर्शकमा नयाँपनको जिज्ञासा बढाएको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रले प्रकृति र मानव जीवनको सम्बन्धलाई खेलकुदको माध्यमबाट प्रस्तुत गर्ने दाबी गरेको छ।

पोस्टरमा हिमाली पाटनको सुन्दर दृश्यलाई कैद गरिएको छ, जहाँ कुहिरोले ढाकिँदै गरेको विशाल चौरमा सात महिलासहित एक पुरुष भलिबल खेल्दै गरेको देख्न सकिन्छ। यद्यपि, उनीहरू कुनै प्रतियोगिताको तयारीमा जुटेका हुन् वा त्यसै मनोरञ्जन गरिरहेका छन् भन्ने कुरा निर्माण पक्षले स्पष्ट पारेको छैन।

पोस्टरको अग्रभागमा चलचित्रको नामअनुसार ‘बुकी’ फूल झपक्क फुलेको देखाइएको छ। बुकी फूल वर्षा याममा हिमाली पाटनहरूमा फुल्ने गर्छ, र स्थानीय भाषामा यी पाटनहरूलाई नै बुकी भनिन्छ। यसैबाट चलचित्रको नामकरण गरिएको बुझिन्छ।

चलचित्रमा सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दीप बाबु लोहनी, र निशा बजगाईँ लगायतका कलाकारहरूको अभिनय रहेको छ। निर्माण पक्षमा प्रकाश आले र राजन केसी कार्यकारी निर्माताका रूपमा रहेका छन् भने लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, र रमेश थापा निर्माताको भूमिकामा छन्। राजेश थापा र वसुन्धरा खरेल क्रिएटिभ प्रोड्युसर छन् भने जितु थापा र सुनिल बुढाथोकी सह–निर्माता छन्।

निर्माण पक्षले सन् २०२६ भित्रमा यसलाई दर्शकमाझ ल्याउने लक्ष्य लिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu