
काठमाडौं – चलचित्र ‘क्याप्टेन साब’को निर्माण टिमले काठमाडौंको व्यस्त सडक तीनकुनेमा २०३० र २०४० को दशकको काठमाडौंलाई झल्काउने विशाल सेट तयार पारेर छायाङ्कन गरिरहेको छ। निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनिरहेको यो चलचित्रले त्यति बेलाको काठमाडौंको जनजीवन र परिवेशलाई पर्दामा उतार्ने प्रयास गरेको छ।
चलचित्रको सेटमा एकै प्रकारका सेता र पुराना जोडिएका घरहरू देख्न सकिन्छ, जसले ४० वर्षअघिको सहरी बनावटको प्रतिनिधित्व गर्छ। निर्देशक खनालका अनुसार, चलचित्रमा सोही दशकको परिवेशलाई जीवन्त बनाउन पुराना शैलीका सवारी साधन, खर्पन र डोकोमा व्यापार गरिरहेका नेवार समुदायका पात्रहरू, र त्यस समयको पहिरनलाई दुरुस्त प्रस्तुत गरिएको छ। “हामीले जुन कालखण्डको कथा भन्दैछौँ, त्यही समयलाई देखाउनका लागि यो सेट तयार पारेका हौँ,” खनालले भने, “हाम्रो बजेट र शिल्पले भ्याएसम्म यथार्थपरक प्रस्तुति दिन हामी कटिबद्ध छौँ।”
क्याप्टेन रामेश्वर थापाको बायोपिकमा आधारित यो चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा छन्। पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस फिल्ममा निर्देशक खनालसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल निर्माताको रूपमा रहेका छन्।
गत साउन १० गतेबाट छायाङ्कन सुरु भएको ‘क्याप्टेन साब’को काठमाडौँपछि काभ्रेको धुमखर्क, बेथानचोक, चितवन र वीरगन्जमा पनि छायाङ्कन हुनेछ। चलचित्रको पटकथा निर्देशक खनाल आफैले लेखेका हुन् भने यसको छायाङ्कन कृष्णबहादुर थापाले गरिरहेका छन्। चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, रोयल भीमसेन पोस्टर तथा पब्लिसिटी डिजाइनर, एकी थेक्पा प्रोडक्सन डिजाइनर र रोहित राज गौतम तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन्।






