‘खुस्मा’ निर्देशकको नयाँ चलचित्र ‘जलाकी’को पोस्टर सार्वजनिक



काठमाडौं – सफल चलचित्र ‘खुस्मा’का निर्देशक अशोक थापा मगर आफ्नो नयाँ प्रोजेक्ट ‘जलाकी’ लिएर दर्शकमाझ आउँदै छन् । सोमबार चलचित्रको निर्माण टोलीले धिरज र उपासनालाई प्रस्तुत गर्दै दुई आकर्षक पोस्टर सार्वजनिक गरेको छ । रोयल भीमसेनद्वारा डिजाइन गरिएका यी पोस्टरहरूले चलचित्रको कथावस्तुलाई थप कौतूहलपूर्ण बनाएका छन् ।

‘जलाकी’मा पनि ‘खुस्मा’कै प्रमुख जोडी अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता धिरज मगरको पुनरागमन भएको छ । उपासनाले हालै मात्र ‘खुस्मा’मा गरेको अभिनयका लागि राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रमा धिरज र उपासनाका साथै अभिनेता सोनम तोप्देन पनि मुख्य भूमिकामा छन् । ‘मिस सिक्किम’ साहारा हाङमा लिम्बुले यसै चलचित्रबाट नेपाली रजतपटमा आफ्नो डेब्यु गर्दैछिन् । यस्तै, शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, राजु रेग्मी मगर र खड्क बहादुर पुन (खबपु) जस्ता स्थापित कलाकारहरूको पनि अभिनय रहनेछ ।

‘जलाकी’ शब्द मगर समुदायको आस्थाको प्रतीक मानिने एक ढुङ्गाको स्तम्भलाई जनाउँछ, जुन कसैको सम्झना वा मायाको प्रतीकको रूपमा स्थापित हुन्छ । निर्देशक अशोक थापा मगरका अनुसार चलचित्रको छायाङ्कन रुकुम, रोल्पा, म्याग्दी, बागलुङ, पोखराका विभिन्न स्थानमा र दक्षिण कोरियामा समेत गरी तीन चरणमा हुनेछ । यस चलचित्रले मगर र गुरुङ समुदायको संस्कृतिलाई पनि नजिकबाट चिनाउने बताइएको छ ।

यो चलचित्रको पहिलो चरणको छायाङ्कन गत चैतमा सम्पन्न भइसकेको छ भने दोस्रो चरणको छायाङ्कन असोज २१ गतेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu