
काठमाडौं – यही शुक्रवार प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मोहर’ को प्रचारप्रसारलाई तीव्र पार्दै नायक पल शाह देश दौडाहामा निस्किएका छन्। चितवनबाट सुरु भएको यो अभियानमा पलले दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्र हेर्न आग्रह गरिरहेका छन्।
चितवनको म्याङ्गो हल, पर्सामा आयोजित कार्यक्रममा पल शाह र गायक थानेश्वर गौतमले दर्शकहरूसँग संवाद गरे। कार्यक्रममा पलले दर्शकहरूसँगै चलचित्रको गीतमा नृत्य गरेर माहौललाई थप रमाइलो बनाएका थिए। दर्शकहरूले पनि ‘मोहर’को ट्रेलर र गीतसङ्गीतले आफूहरूलाई उत्साहित बनाएको प्रतिक्रिया दिँदै चलचित्र हेर्न आतुर रहेको बताए।
चितवनमा प्रशंसकहरूसँगको सफल भेटपछि पल शाह आज पोखरा पुगेका छन्। त्यहाँ पनि उनले दर्शकहरूसँग साक्षात्कार गरेका छन्।
फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको ‘मोहर’ को लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन्। यसका निर्माता चुम्बन जङ्ग शाही हुन्। यसमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जङ्ग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ। ‘देउकी प्रथा’ को कथामा आधारित यो चलचित्रले सामाजिक विषयवस्तुलाई मनोरञ्जनका साथ प्रस्तुत गर्ने प्रयास गरेको छ।
यसैबिच, सेन्सर बोर्डले ‘मोहर’ लाई ‘पीजी’ प्रमाणपत्र दिएको छ। यसको अर्थ, १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले यो फिल्म हेर्नका लागि अभिभावकको साथ अनिवार्य हुनेछ।




