
काठमाडौं – सामाजिक कुप्रथा ‘देउकी’को कथावस्तुमा आधारित नेपाली चलचित्र ‘मोहर’को देशव्यापी रूपमा अग्रिम टिकट बिक्री सुरु भएको छ। दर्शकहरूबाट मिलेको उत्साहजनक प्रतिक्रिया र ट्रेलरले सिर्जना गरेको उच्च प्रतीक्षाका बिच चलचित्रले देशभरका प्रमुख मल्टिप्लेक्स चेनहरूमा उत्कृष्ट शो सङ्ख्या सुरक्षित गरेसँगै बक्स अफिसमा बलियो सुरुवात गर्ने सङ्केत देखिएको छ।
फिल्म मेकर्स प्रा.लिको ब्यानरमा चुम्बन जङ्ग शाहीद्वारा निर्मित यस चलचित्रको लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन्। मङ्गलवार र बुधवारदेखि क्यूएफएक्स सिनेमाज, आईएनआई सिनेमाज, वान सिनेमाज, बिग मुभिज, एफक्यूब जस्ता प्रमुख मल्टिप्लेक्सहरूले आ–आफ्नो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएका हुन्।
राजधानीका क्यूएफएक्स सिभिल मलमा ३, छाया सेन्टरमा २, दरबार सिनेम्याक्समा १, सिडीसीमा ४ तथा आईएनआई लोत्से र बानेश्वरमा ३/३ शोका साथ चलचित्रले प्रदर्शनको सुरुआत गर्नेछ। त्यसै गरी, काठमाडौंबाहिर पोखरा, चितवन, इटहरी, बुटवल, विराटनगर, बिर्तामोड, दमौली लगायतका प्रमुख सहरहरूमा पनि चलचित्रले उल्लेख्य शो पाएको छ। अझै केही पर्दा घरहरूले शो तालिका सार्वजनिक गर्न बाँकी रहेकाले चलचित्रले थप शो पाउने निश्चित छ।
चलचित्रमा अभिनेता पल शाहका साथमा नीति शाह, बेनिशा हमाल, अर्जुन जङ्ग शाही, लक्ष्मी गिरी, सारा शर्मा जस्ता कलाकारहरूको सशक्त अभिनय रहेको छ। यसअघि सार्वजनिक भएका गीतसङ्गीत र ट्रेलरलाई दर्शकले निकै रुचाएका कारण पनि चलचित्रप्रति उच्च आकर्षण देखिएको हो।






