
काठमाडौं – यो साता दुई नेपाली चलचित्रहरू ‘मोहर’ र ‘सिटामोल’ रिलिज भएका छन्। यस वर्षको पहिलो त्रैमासिकमा प्रदर्शनमा आएका चलचित्रमध्ये ‘ऊनको स्वीटर’ बाहेक अरूले खासै व्यापार गर्न नसकेको समयमा रिलिज भएका यी दुई चलचित्रबाट ठुलो अपेक्षा राखिएको छ। यी दुवै चलचित्रमा चर्चित कलाकारहरूको अभिनय छ। सबैभन्दा रोचक पक्ष के हो भने दुवैमा अभिनेत्री बेनिशा हमाल प्रमुख अभिनेत्रीको भूमिकामा छिन्।
ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको ‘मोहर’ देउकी कुप्रथाको कथामा आधारित छ। यसमा बेनिशा हमालसँगै पल शाह, नीति शाह, अर्जुन जङ्ग शाही, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ। यसका निर्माता चुम्बनजंग शाही हुन्।
राज बहादुर साने निर्देशित ‘सिटामोल’को लेखन साने र प्रदीप भारद्वाजले गरेका हुन्। यसमा बेनिशासँगै सौगात मल्ल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा लगायतका कलाकारहरू छन्। ‘जन्ते बाख्रो’ का निर्देशक सिमोस सुनुवार यसका प्रस्तुत कर्ता हुन्।
‘मोहर’ र ‘सिटामोल’ले देशभर लगभग बराबर सङ्ख्यामा शोहरु पाएका छन्, तर ‘मोहर’ले सामान्य अग्रता लिएको छ। यी दुई चलचित्रको अग्रिम बुकिङ हेर्दा ‘वर्ड अफ माउथ’मा नै सफलता अडिएको देखिन्छ।






