
काठमाडौं – आशान्त शर्माको निर्देशनमा बनेको नेपाली चलचित्र ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ९ सेकेन्ड लामो यो ट्रेलरले काठमाडौँमा मध्यम वर्गीय परिवारले गर्नुपर्ने दैनिक सङ्घर्ष र सम्बन्धका जटिलतालाई उजागर गरेको छ।
ट्रेलरमा मुख्य पात्रको रूपमा निर्देशक आशान्त शर्मा, मेनुका प्रधान र मीरा खड्कालाई देखाइएको छ। ट्रेलरले यी तीन पात्रबीचको त्रिकोणात्मक प्रेम सम्बन्धको कथालाई केन्द्रमा राखेको छ। फिल्ममा मेनुका पृथक् र बोहेमियन शैलीको चरित्रमा देखिएकी छन्, जुन उनको अघिल्ला क्लासिक भूमिकाभन्दा फरक छ। उनको यो चरित्रले सामाजिक र सांस्कृतिक परम्परागत बन्धनहरूबाट मुक्त भई अनौपचारिक जीवनशैली अपनाएको देखाउँछ।
चलचित्रमा आभास अधिकारी, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पङ्गेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, र पुष्कर गुरुङजस्ता कलाकारहरूको पनि अभिनय छ। यसअघि नै चलचित्रका गीतहरू ‘ऐया नि हो’ र ‘जाम त भने कुन बाटो जाम त’ तथा टिजर सार्वजनिक भइसकेका छन्।
निर्देशक शर्माकै कथामा आधारित यो चलचित्रले निम्न मध्यम वर्गीय परिवारका मानिसहरूले आफ्नो सपना पूरा गर्न सामना गर्नुपर्ने चुनौती र बाधा अवरोधहरूलाई समेटेको छ। निर्देशक शर्माका अनुसार यो फिल्म मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयमा पनि आधारित छ।
वेज प्रालिको प्रस्तुति रहेको यस चलचित्रका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पङ्गेनी शर्मा हुन्। घनलक्ष्मी शाक्य, जगविजय पङ्गेनी शर्मा र युगविजय पङ्गेनी शर्मा सह-निर्माताको रूपमा रहेका छन्।
‘ताराहरू’ आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ।
ट्रेलर:



