‘माइतीघर’को गीतमा उत्कृष्ट नृत्य गर्नेलाई ५ लाख पुरस्कार दिने घोषणा



काठमाडौं – आउँदो दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माइतीघर’को शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समूहलाई नगद रु ५ लाख पुरस्कार दिने घोषणा गरिएको छ।

भदौको पहिलो साता सार्वजनिक गरिने ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा भारतीय गायिका सञ्जीवनीको स्वर रहेको छ। यो गीतमा आधारित भिडियो प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले ४० सेकेन्डदेखि २ मिनेटसम्मको नृत्य भिडियो बनाएर [email protected] मा पठाउनुपर्नेछ। भिडियो पठाउने अन्तिम मिति भदौ २० गतेसम्म तोकिएको छ।

प्राप्त भएका भिडियोहरूलाई ओएसआर डिजिटलको युट्युब, फेसबुक र टिकटक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गरिनेछ। सबैभन्दा धेरै भ्यूज पाउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई निर्णायक मण्डलले छनोट गरी असोज १२ गते विजेता घोषणा गर्ने र पुरस्कार प्रदान गर्ने जनाइएको छ।

रोहित अधिकारी प्रस्तुत कर्ता रहेको मिलन तामाङ निर्देशित ‘माइतीघर’ मा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, सङ्गीता थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा र संवाद रामशरण पाठकले तयार पारेका छन्। सुशन प्रजापतिको डोआपी, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जनको एक्सन यस फिल्ममा समावेश छ। गीततर्फ किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको रचना रहेको छ भने चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवले सङ्गीत भरेका छन्।

रविन शेरचन र धिरज तामाङको लगानी रहेको यस फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu