
काठमाडौं – नेपाली समाजमा आफ्नो भावना लुकाएर भित्रैभित्रै कुँडिएर बस्ने प्रवृत्ति व्याप्त छ। पितृसत्तात्मक सोचका कारण महिलाहरूले समेत आफ्ना पीडाहरू सहजै व्यक्त गर्न नसकिरहेको अवस्थामा लैङ्गिक अल्पसङ्ख्यक (तेस्रोलिंगी) समुदायको अवस्था कति दयनीय होला? समाजको डर, तिरस्कार र बहिष्करणको त्रासले गर्दा धेरैजसो तेस्रोलिंगीहरू आफ्नो वास्तविक पहिचान लुकाएर नारकीय जीवन बिताउन बाध्य छन्।
यही मर्मस्पर्शी यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको चलचित्र ‘गुन्यू चोलो: द ड्रेस’को ट्रेलर सार्वजनिक भएसँगै यो विषय चर्चामा छ। भदौ १३ गते प्रदर्शन हुने यो चलचित्रको ट्रेलरमा एक युवाको कथा देखाइएको छ, जसको शारीरिक पहिचान पुरुष भए पनि भावना र चाहना महिलाको जस्तो छ। ऊ चुरा, गाजल र सारी लगाएर बाँच्न चाहन्छ, तर परिवार र समाजले उसलाई हेय दृष्टिले हेर्छ। विशेष गरी, उनका बुबाले उनलाई “लाहुरे” बनाउनका लागि मानसिक यातना दिइरहेको दृश्य छ।
चलचित्रका मुख्य अभिनेता नाजिर हुसेन पनि आफ्नो चरित्रलाई लिएर निकै उत्साहित छन्। उनले ‘गुन्यू चोलो’ को गीत र ट्रेलरले आफ्नो अपेक्षा पूरा गरिरहेको बताए। दशकअघि ‘होस्टेल’ बाट रामेश्वर यादवको रूपमा पहिचान बनाएका नाजिर अब यो नयाँ चरित्रमार्फत दर्शकमाझ आफ्नो नयाँ परिचय स्थापित गर्नेमा विश्वस्त छन्। नाजिरले यस चलचित्रमा पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिका निर्वाह गरेका छन्।
नेपालमा पूर्ण रूपमा ट्रान्स स्टोरीमा बनेको यो पहिलो चलचित्र हो, जसले अन्तर्राष्ट्रिय क्षेत्रको पनि ध्यान खिचेको छ। अमेरिकाको ‘बफेलो एटल’ नामक कम्पनीले चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ। साथै, चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम हलिउड स्तरमा बाहिरै गरिएको छ।
यस चलचित्रमा हलिउडकी चर्चित गायिका लिजा जेरार्ड (जो ‘ग्लेडिएटर-२’ मा पनि संलग्न थिइन्) ले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्। आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी रहेको यस चलचित्रका कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन्। अनुपम श्रेष्ठले सहयोगी निर्माताको भूमिका निभाएका छन्।
आलोक शुक्लाले खिचेको यो चलचित्र अमेरिकाको प्रतिष्ठित ‘तस्बिर फिल्म मार्केट’ मा समेत छनोट भएको थियो। यसमा नाजिर हुसेनसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि महत्त्वपूर्ण भूमिका रहेको छ।




