बच्चाको टिकट नहुँदा हल प्रवेश नपाएपछि पोखराको मिडटाउन हलमा विवाद



पोखरा – पोखराको मिडटाउन सिनेमामा बुधवार बेलुकी एउटा घटनाले सामाजिक सञ्जालमा चर्को प्रतिक्रिया पाएको छ। काखमा रहेका दूधे बच्चालाई पनि टिकट काट्नुपर्ने अडानका कारण एकै परिवारका ९ जना दर्शक करिब २० मिनेटसम्म हल बाहिर रोकिए, जसको विवरण पीडित पक्षका रञ्जन अधिकारी क्षेत्रीले फेसबुकमा सार्वजनिक गरेका छन्।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टका प्रेस संयोजक समेत रहेका क्षेत्रीका अनुसार, उनले आफ्नो परिवार र साथी–दिदीहरूसहित ९ जनाका लागि मोबाइल एपमार्फत १८०० रुपैयाँमा नेपाली चलचित्र ‘मोहर’को टिकट काटेका थिए। ठुला छोराछोरीका टिकटसमेत काटे पनि, काखको सानी छोरीका लागि भने अतिरिक्त टिकट नकाटेको उनले उल्लेख गरेका छन्।

“७:२० को फिल्म हेर्न ७:१५ मा उनीहरू हल पुगेका रहेछन्। ७:३० तिर फोन आयो – भित्र जान दिइएको छैन, काखे नानीको पनि टिकट चाहिन्छ भनेर भनिएको छ। अर्को काट्न खोज्दा सिट छैन, सबै हाउसफुल छ भनिएको रहेछ,” उनले लेखेका छन्।

क्षेत्रीका अनुसार, हल व्यवस्थापनले न त अतिरिक्त टिकट उपलब्ध गरायो, न त काखमा बच्चा बसेर फिल्म हेर्न अनुमति दियो। टिकट फिर्ता माग्दा पनि तत्काल समाधान नपाएको उनले दाबी गरेका छन्। “अन्ततः, ‘पस, अरू म बेहोर्छु’ भनेर पसे पनि २० मिनेट ढिला भइसकेको थियो,” उनले भने।

उनको पोस्टमा हल व्यवस्थापनको रवैया प्रति आक्रोश व्यक्त गर्दै, “२ सय रुपैयाँको टिकट काट्नु ठुलो कुरा होइन, तर हाउसफुल भन्दै टिकट पनि छैन, भित्र जान पनि दिँदैन – यो हद हो,” टिप्पणी गरेका छन्। उनले काखे बच्चासम्बन्धी नियमबारे अन्य दर्शकलाई पनि यस्तै अनुभव भएको छ कि भनेर प्रश्न उठाएका छन्।

के भन्छ हल व्यवस्थापन?

सङ्केत द्वा

मिडटाउन सिनेमाका व्यवस्थापक सङ्केत द्वाका अनुसार, हलमा ३ फिट भन्दा माथि उचाइ भएका बच्चाको लागि टिकट अनिवार्य लिइन्छ। “यसको कारण काखमा बस्दा पछाडिको सिटमा रहेका दर्शकको भ्यु एंगल डिस्टर्ब हुने हो। साथै, ३ फिटभन्दा माथिको बच्चालाई काखमा राख्दा ३ घण्टासम्म बस्नुपर्दा अत्यधिक असुविधा हुने मात्र नभई, आकस्मिक अवस्थाको समयमा हल खाली गराउने प्रक्रियामा समेत ठूलो कठिनाई उत्पन्न हुन्छ,” द्वाले भने। उनका अनुसार, हिजोको घटनामा उमेर भन्दा पनि उचाइको आधारमा निर्णय गरिएको थियो।

“हाउसफुल भएकोले अर्को टिकट दिन सम्भव भएन। हामी सबैलाई एकनासको व्यवहार गर्छौँ। पहुँचवालालाई मात्र सुविधा दिन मिल्दैन,” उनले स्पष्ट पारे। उनका अनुसार, हिजोका प्रदर्शनमा धेरै बच्चाहरूले टिकट लिएर चलचित्र हेरेका थिए। त्यसैले एक जनालाई मात्र बिना टिकट प्रवेश गराउँदा अरू दर्शकलाई अन्याय हुने जिकिर द्वाले गरे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu