
काठमाडौं – माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘राम नाम सत्य’ को औपचारिक सुरुवात भएको छ। ललितपुरको बङ्गलामुखी मन्दिरमा क्यामेरा पूजा गरी चलचित्रको शुभ साइत गरिएको छ। निर्माण पक्षले केही दिनभित्रै काठमाडौंमा छायाङ्कन सुरु गर्ने र चितवनमा पनि छायाङ्कन गर्ने योजना बनाएको छ।
निर्देशक माइकल चन्दले चलचित्रलाई आफ्नो सपनाको परियोजना भन्दै भावनात्मक रूपमा यसमा जोडिएको बताए। उनले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन्। नयाँ वर्षको अवसर पारेर चलचित्र आउँदो चैत्र २७ गते दर्शकमाझ आउनेछ।
शुभ साइतकै अवसरमा निर्माण पक्षले चलचित्रका मुख्य नायक बिराज भट्टको लुक्स पनि सार्वजनिक गरेको छ। पोस्टरमा बिराज भट्ट एक्सन अवतारमा आक्रामक देखिएका छन्।

‘राम नाम सत्य’ मा बिराज भट्टका साथमा सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डिसी जस्ता कलाकारहरूको अभिनय रहनेछ।
चलचित्रको निर्माण उपेन्द्र शाही र श्वेता विमली ले गर्दैछन् भने किशोर भट्ट र डा. डी.आर. उपाध्याय कार्यकारी निर्माताको रूपमा छन्। चलचित्रमा माइकल चन्दकै कथा र पटकथा छ। सञ्जय लामाको डीओपी, श्री श्रेष्ठको एक्सन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको सङ्गीत रहेको छ। साथै, कोरियोग्राफी विक्रम स्वाँर र सियोन श्रेष्ठले गर्दैछन्।
चलचित्रमा नीरज ठकुरी क्रिएटिभ निर्देशक र नवीन जङ्ग शाही कास्टिङ डिरेक्टर रहेका छन्। राजेन्द्र मोक्तानको कलर, विवेक बस्यालको पोस्टर फोटो र विजय बस्यालको पोस्टर डिजाइन रहेको छ। मोती कार्की क्रिएटिभ निर्माता र राजेन्द्र आचार्य लाइन प्रोड्युसर रहेका छन्। अभिमन्यु निरवी र समय थापा स्क्रिप्ट कन्सल्ट्यान्टको रूपमा रहेका छन् भने विदुषी थापा प्रोडक्सन डिजाइनर र तेज विक्रम केसी प्रोडक्सन म्यानेजर हुन्।




