
काठमाडौं – यम शेर्पा निर्देशित नयाँ चलचित्र ‘मिरमिरे’ को छायाङ्कन पूरा भएको छ । ३५ दिन लगाएर गरिएको यो चलचित्रको छायाङ्कन हालै सम्पन्न भएको हो । यो चलचित्र आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।
यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा मुख्य भूमिकामा चर्चित अभिनेता दयाहाङ राई, लोकप्रिय गायक तथा अभिनेता प्रकाश सपूत र अभिनेत्री सिर्जना निङलेखु छन् । साथै माओत्से गुरुङ, छुल्ठिम गुरुङ र भोलाराज सापकोटाजस्ता कलाकारको पनि अभिनय रहेको छ । बाल कलाकारमा भने साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलले अभिनय गरेका छन् ।
‘मिरमिरे’ को कथा पनि निर्देशक शेर्पा आफैँले लेखेका हुन् भने आलोक शुक्लाले छायाङ्कन गरेका हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा यस चलचित्रका निर्माता हुन् । गोविन्द बोहरा र सुदिप कुँवर सह-निर्माताको रूपमा रहेका छन् ।



