काठमाडौँ – सर्लाहीको लालबन्दी नगरपालिकामा जन्मिएका विजय बराल आज नेपाली चलचित्र र नाटक दुनियाँमा परिचित नाम बनेका छन्। विगत वर्षको ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले उनलाई लोकप्रियताको नयाँ उचाइमा पुर्यायो। उक्त चलचित्रले नेपालमै झन्डै ४७ करोड रुपैयाँको व्यापार गर्दै कीर्तिमान कायम गर्दा बरालको मुख्य भूमिकाले सबैको ध्यान खिच्यो।
चलचित्रमा उनले निर्वाह गरेको ‘पूर्णबहादुर गन्धर्व’ पात्र — सारङ्गी बजाएर जीविकोपार्जन गर्ने र छोरालाई डाक्टर बनाउन सङ्घर्षरत बुबाको कथा — ले असङ्ख्य दर्शकलाई भावुक बनायो। बरालका अनुसार यो पात्र उनको कलाकारितामा मात्र होइन, व्यक्तिगत जीवनमा पनि एउटा मीलका पत्थर बन्यो। “मेरो कर्मले बुवा आमाको सम्मान बढेको छ, त्यो नै मेरो सबैभन्दा ठुलो उपलब्धि हो,” उनी भन्छन्।

डाक्टर बन्ने सपना बाट मञ्चतर्फ
बरालको जीवनमा कलाप्रति रुचि विद्यालय स्तरमै पलाएको हो। कक्षा ८ मा पढ्दा एक गीतले उनलाई गहिरो असर पारेपछि उनी नक्कल र हास्य प्रस्तुतिमा सक्रिय भए। स्थानीय कार्यक्रममा नेतादेखि शिक्षकसम्मको हाउभाउ उतार्ने उनको प्रतिभाले गाउँमा नाम कमायो।
तर, माध्यमिक शिक्षा सकिएपछि उनको लक्ष्य डाक्टर बन्ने थियो। अमृत साइन्स क्याम्पसमा भर्ना हुन काठमाडौँ पुगे पनि परिस्थितिले पढाइ योजना बदलियो। गाउँ फर्किएर व्यवस्थापन पढेपछि भने उनले फेरि कलाकारितालाई रोज्ने निर्णय गरे। हास्य कलाकार बन्ने उद्देश्यसहित उनी पुनः काठमाडौँ प्रवेश गरे र हास्य कलाकार शिवशङ्कर रिजालसँगको भेटमार्फत ‘गाईजात्रा’ र ‘प्यारोडी’ कार्यक्रममार्फत व्यावसायिक यात्रा सुरु भयो।
मण्डलासम्मको यात्रा
हास्यकलाबाट थोरै असन्तुष्ट बराल गुरुकुलमा नाटक हेर्न जाँदा रङ्गकर्मीहरूसँगको सम्पर्कमा आए। भारतको नेशनल स्कुल अफ ड्रामाका प्रशिक्षकसँग ४५ दिनको तालिमपछि उनले अभिनयलाई गहिरो रूपमा बुझ्न थाले। यहीँबाट उनी मण्डला नाटक घरसँग जोडिए — सुरुवातमा ‘सेट डिजाइन’ जस्ता प्राविधिक काम गर्दै।
बरालका अनुसार यो समय उनको जीवनको वास्तविक सिकाइ चरण थियो। “अभिनय पोखरी होइन, महासागर रहेछ भन्ने यति बेला बुझेँ,” उनी सम्झिन्छन्। दुई वर्षको सङ्घर्षपछि उनले सानातिना भूमिकाबाट मञ्चमा प्रवेश पाए र चरणदास चोर नाटकले उनको अभिनयलाई ठुलो दर्शकमाझ पुर्यायो।
पर्दाबाट पर्दामा
बरालको चलचित्र यात्रा छड्के बाट सुरु भयो, जहाँ उनलाई अग्रज सुनिल पोखरेलले संवादसहितको अवसर दिए। तर उनको वास्तविक परिचय भने कबड्डी सिरिजको ‘विके’ पात्रबाट बन्यो। यस चलचित्रमा उनले अभिनयसँगै पोसाक व्यवस्थापनको जिम्मा पनि सम्हालेका थिए।
तर, सहायक भूमिकामा सीमित बराललाई मुख्य पात्रको अवसर भने पूर्णबहादुरको सारङ्गी मार्फत मिल्यो। निर्देशक रामबाबु गुरुङको टोली र निर्माता विनोद पौडेलको प्रस्तावमा सुरुवाती दोधारपछि उनले चुनौती स्वीकारे। गन्धर्व समुदायको बोली, हाउभाउ, सारङ्गी बजाउने शैलीमा दिनहुँ अभ्यास गर्दै उनले पात्रलाई पर्दामा प्राण भरे।
सफलता र सरलता
बरालका अनुसार सफलता क्षणिक हो, र यसलाई ‘ह्यान्डल’ गर्ने कला उनी अभिनेता दयाहाङ राईबाट सिकेका छन्। “सफलतामा दम्भ देखाउनु हुँदैन, बरु जिम्मेवारी बढ्छ,” उनी भन्छन्।
उनको ताजा चलचित्र जनै हराएको मान्छे: सम्बन्धको धागाहरू पनि पारिवारिक कथामा आधारित छ। बराल भन्छन् — “यो कथाले छुटेका सम्बन्ध र व्यक्तिगत सङ्घर्षलाई देखाउँछ, दर्शकले आफ्नो जीवनसँग जोड्न सक्नेछन्।”
सन्तुलित यात्रा
बरालका लागि नाटक र चलचित्र दुवै समान महत्त्वका छन्। वर्षको केही समय नाटकका लागि छुट्टाउने र बाँकी समयमा चलचित्रमा काम गर्ने योजना उनले बनाएका छन्। “मलाई नाटकले बनाएको हो, त्यसैले त्यहाँबाट टाढा हुन सक्दिन,” उनी स्पष्ट गर्छन्।
बरालले प्रमुख अभिनय गरेको चलचित्र ‘जनै हराएको मान्छे’ भदौ ६ गते रिलिज हुँदैछ।






