
काठमाडौं – दसैँको बिदालाई फिल्म प्रदर्शनका लागि उपयुक्त समय मान्ने परम्परा नेपाली चलचित्र उद्योगमा पुरानै हो । विगतमा छविराज ओझा र दीपकराज गिरीले यो समयलाई आफ्नो चलचित्र रिलिजको लागि ‘पेवा’ जस्तै बनाएका थिए । अब यो सूचीमा नायक तथा निर्देशक बिराज भट्ट पनि थपिएका छन् ।
गत दसैँमा आफ्नो निर्देशन र अभिनय रहेको चलचित्र ‘१२ गाउँ’ ले बक्स अफिसमा ऐतिहासिक सफलता पाएपछि हौसिएका बिराजले आगामी दसैँमा पनि सोही चलचित्रको सिक्वेल ल्याउने घोषणा गरेका छन् । बिहीबार आफ्नो नयाँ चलचित्र ‘राम नाम सत्य’ को शुभ मुहूर्त समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो जानकारी दिएका हुन् ।
विराजले बताए अनुसार, अहिले ‘१२ गाउँ २’ को कथावस्तुमा काम भइरहेको छ र यसलाई अर्को वर्षको दसैँमा रिलिज गर्ने तयारी छ । यो चलचित्रमा पनि ‘१२ गाउँ’ कै जस्तै बाबु र छोराको जोडी देखिनेछ । बिराजसँगै उनका छोरा समीर भट्ट को पनि यसमा मुख्य भूमिका रहनेछ । निर्देशनको जिम्मेवारी पनि बिराज आफैँले सम्हाल्नेछन् ।
यसअघि, बिराजले यही वर्षको दसैँमा ‘१२ गाउँ’ को सिक्वेल ल्याउने योजना बनाएका थिए र गत पुसमा त्यसका लागि चलचित्र विकास बोर्डबाट निर्माण अनुमति पनि लिइसकेका थिए । तर, समीर अभिनीत चलचित्र ‘बलिदान’ को छायाङ्कन लम्बिएर रिलिज मिति दसैँको फूलपातीमा सरेकाले उनले ‘१२ गाउँ २’ को तयारी तत्कालका लागि स्थगित गरेर अर्को ब्यानरको फिल्म ‘राम नाम सत्य’ मा काम गर्न लागेका हुन् ।
यसैबीच, बिराजका कान्छा छोरा पनि ‘१२ गाउँ २’ बाट चलचित्रमा डेब्यु गर्दै छन् भन्ने चर्चा चलेको थियो । तर, बिराजले यसलाई खण्डन गरेका छन् । “अहिलेसम्म उसलाई फिल्ममा ल्याउने कुनै सोच छैन । ऊ अझै सानै छ । बाउ र दाइ दुवै यही क्षेत्रमा भएकाले उसको रुचि भने छ, तर फिल्ममा आउने बेला भएको छैन,” बिराजले भने ।






