चलचित्र ‘अभिमन्यु’को भोजपुरी शैलीको गीत ‘लड्की गोरी’ सार्वजनिक



काठमाडौं – आगामी भाद्र २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को एक नयाँ गीत सार्वजनिक भएको छ। ‘लड्की गोरी’ बोलको यो गीतमा नेपाली भाषाका शब्दहरू प्रयोग गरिएको भए पनि यसको लवज र प्रस्तुति भने भोजपुरी शैलीको रहेको छ।

यो गीतमा प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको स्वर, शब्द र सङ्गीत रहेको छ। गीतलाई विषम आचार्यले सङ्गीत संयोजन गरेका हुन्। कोरियोग्राफर रोहन विश्वकर्माको निर्देशनमा तयार पारिएको यस गीतको भिडियोमा किरण श्रेष्ठ र जुना सुन्दासको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको भिडियोमा युवायुवतीको एक अर्काप्रतिको आकर्षण र प्रेम भावलाई प्रस्तुत गरिएको छ।

चलचित्रको कथावस्तु तराई क्षेत्रमा आधारित भएकाले त्यहाँको संस्कृति र जनजीवन झल्किने गरी यो गीत तयार पारिएको निर्माण पक्षले जनाएको छ।

सुशान्त गौतमको निर्देशनमा बनेको यो चलचित्र उनको डेब्यु निर्देशन हो। यसको कथा मुकेश खनालले लेखेका हुन् भने मदन थापा क्रिएटिभ निर्देशकको भूमिकामा छन्। चलचित्रमा पैसाको लोभमा फसेर चक्रव्यूहमा पर्ने र त्यसबाट बाहिर निस्कन सङ्घर्ष गर्ने एक व्यक्तिको कथा देखाइएको छ।

चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यस चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माताको रूपमा रहेका छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता हुन्।

‘अभिमन्यु : च्याप्टर–१’ को हिन्दी संस्करण भने सेप्टेम्बर २२ (असोज ६) मा विश्वभर प्रदर्शन हुने निर्माण टिमले जानकारी दिएको छ। मनोज श्रेष्ठले भिएफएक्स, सुप्रिम पराजुलीले रङ्ग संयोजन र मदन घिमिरेले सम्पादनको काम गरेका छन्। चलचित्रमा शरद महतोको सिनेमेटोग्राफी रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu