
काठमाडौं। प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री भएको छ। चलचित्रको राइट्स अस्ट्रेलियामा रहेका नेपाली उद्यमी राम कार्कीले खरिद गरेका हुन्।
शिक्षा र माइग्रेसन सेवामा ख्याति कमाएका व्यावसायिक जीवनसँगै नेपाली कला, सङ्गीत, चलचित्र र खेलकुदलाई माया गर्ने कार्की अस्ट्रेलियामा एक स्थापित व्यवसायी हुन्। कार्कीले दिएको जानकारीअनुसार ‘झरी पछिको इन्द्रेणी’ नेपालमा प्रदर्शन हुने मितिसँगै अस्ट्रेलियाका प्रमुख सहरहरूमा पनि रिलिज गरिनेछ। ‘यो चलचित्र अस्ट्रेलियामा बस्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक दुवै हुनेछ भन्नेमा म विश्वस्त छु,’ कार्कीले बताए।
लामो समयपछि अभिनेता गणेश उप्रेतीको कमब्याक रहेको यस चलचित्रमा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहेको छ। विशेष गरी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप गीत समावेश गरिने चर्चाले पनि यो चलचित्रलाई थप प्रतीक्षित बनाएको छ।



