
काठमाडौं – नेपाली चलचित्र बजारमा नयाँ फिल्म ‘कहाँ गयौ तिमी…?’ निर्माणको घोषणा गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको शुभ अवसर पारेर सहारा फिल्म्सले यो चलचित्रको निर्माण घोषणा गरेको हो। फिरोज तिमिल्सिनाको निर्देशनमा बन्ने यो चलचित्र प्रेम कहानीमा आधारित रहनेछ।
घोषणासँगै चलचित्रको शीर्षक र पोस्टर सार्वजनिक गरिएको छ।
पेसाले इन्जिनियर रहेका फिरोज तिमिल्सिना चलचित्र निर्देशनमा डेब्यु गर्दै छन्। टेलिभिजनको दुनियाँमा लामो अनुभव सँगालेका उनी ‘नेपाल आइडल सिजन–१’ को रियालिटी प्रोड्युसर र एपिसोड डिरेक्टरको रूपमा काम गरिसकेका छन्। ‘द भ्वाइस अफ नेपाल’ को फाउन्डर तथा क्रिएटिभ हेडको जिम्मेवारी पनि उनले सम्हालेका थिए। साथै, उनी एक गायक र अभिनेता पनि हुन्। उनले ‘दर्पण छाया–२’ मा अभिनय गरेका थिए। हाल उनी अमेरिकामा बस्दै आएका छन्।
यस चलचित्रको कथा जीवन आचार्यले लेखेका हुन् भने प्रकाश नेपालीले सङ्गीत दिनेछन्। यद्यपि, चलचित्रमा को-को कलाकार र निर्माता रहनेछन् भन्ने बारेमा भने निर्माण पक्षले कुनै जानकारी दिएको छैन।



