
काठमाडौं – यस पटकको दसैँको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ। ‘बेला बितेसी’ बोलको यो गीतमा गायक प्रकाश सपूत र गायिका समीक्षा अधिकारीको आवाज सुन्न सकिन्छ। गीतमा प्रकाश सपूतले नै शब्द र सङ्गीत सिर्जना गरेका छन्।
लोकलयमा आधारित यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू प्रकाश सपूत र स्वस्तिमा खड्काको मनमोहक नृत्य प्रस्तुत गरिएको छ। रोमान्टिक शैलीको यस गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् भने पवन सुस्लिङ्गले यसलाई छायाङ्कन गरेका हुन्। गीतमा प्रेममा समयको कुनै सीमा नहुने भावलाई व्यक्त गरिएको छ।
दीपेन्द्र के. खनालद्वारा निर्देशित यस चलचित्रमा प्रकाश सपूत र स्वस्तिमा खड्कासँगै वरिष्ठ कलाकार हरिवंश आचार्य, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल, नरेन्द्र कंसकार र अंशु महर्जन लगायतको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा तथा पटकथा हरिवंश आचार्यले नै लेखेका हुन्। उनको चर्चित पात्र ‘हरिबहादुर’मा आधारित भएर बनाइएको यो चलचित्रलाई कृष्ण बहादुर थापाले खिचेका छन् भने सम्पादन नहकुल खड्काले गरेका हुन्। सरोज ओली र मोहितवंश आचार्य निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता शैलेश खत्री हुन्। चलचित्रको ब्याकग्राउन्ड स्कोर शैलेश श्रेष्ठ र रोहित शाक्यले तयार पारेका छन्।
गीत:



