
काठमाडौं – मुम्बईमा रहँदै आएकी लोकप्रिय अभिनेत्री निरुता सिंह नयाँ चलचित्रको छायाङ्कनका लागि नेपाल आइपुगेकी छिन्। निर्देशक सबिर श्रेष्ठको आगामी चलचित्र ‘३६ को आँकडा’ मार्फत उनी लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा फर्किएकी हुन्। आइतबार राति काठमाडौँ अवतरण गरे लगत्तै पत्रकारहरूसँग कुरा गर्दै निरुताले आफ्नो यो नयाँ यात्राप्रति निकै उत्साहित रहेको बताइन्।
निरुताले आफू नेपाली चलचित्रबाट टाढा बस्न नसक्ने स्पष्ट पार्दै अब भने निरन्तर यहीँ काम गर्ने प्रतिबद्धता जनाएकी छन्। “म अब कहीँ पनि जाँदिनँ,” उनले भनिन्, “कोभिड महामारीका कारण केही समय चलचित्रबाट टाढा हुनुपरे पनि अब भने म निरन्तर काम गर्नेछु।” उनले यसअघि पनि केही चलचित्रको प्रस्ताव आएको भए पनि विभिन्न कारणले काम गर्न नसकेको जानकारी दिइन्।
निर्देशक सबिर श्रेष्ठले निरुतालाई ‘३६ को आँकडा’ मा लिनुको कारणबारे खुलाए। “मैले सहायक निर्देशकको रूपमा निरुता दिदीसँग केही चलचित्रमा काम गर्ने अवसर पाएको थिएँ,” उनले भने, “निर्देशक बनेपछि उहाँसँग काम गर्न पाएको थिइनँ। यो चलचित्रमा एउटा यस्तो विशेष भूमिका छ, जहाँ निरुता दिदी नै आवश्यक हुनुहुन्थ्यो। त्यसैले हामीले उहाँलाई अनुरोध गर्यौँ।”
चलचित्रमा निरुताको भूमिकाबारे भने अहिले नै केही खुलाइएको छैन। यस चलचित्रमा निरुतासँगै रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी र पुष्प खड्का लगायतका चर्चित कलाकारहरूको पनि अभिनय रहनेछ।
विशेष गरी, चलचित्र ‘दुई पल’ पछि अभिनेत्री रेखा थापा र निरुता सिंहले पहिलो पटक सँगै पर्दा साझेदारी गर्दैछन्। लामो समयपछि यी दुई सफल अभिनेत्रीलाई एउटै चलचित्रमा देख्न पाउनु दर्शकका लागि एक सुखद अनुभव हुनेछ।
निरुताले यसअघि ‘दाल भात तरकारी’ पछि कुनै पनि चलचित्रमा अभिनय गरेकी थिइनन्। ‘३६ को आँकडा’ को छायाङ्कन आजबाट सुरु हुँदैछ र उनी पनि यसको लागि पूर्ण रूपमा तयार भएकी छिन्।



