
काठमाडौं – नेपाली साहित्यका प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ लाई पर्दामा पुनः उतार्ने तयारी सुरु भएको छ। यसै क्रममा, चलचित्रको निर्माण पक्षले सबै कलाकारहरूलाई समेटेर आइतबारदेखि औपचारिक वर्कसप थालेको छ। वर्कसपमा मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शङ्कर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने लगायत सहभागी छन्।
चलचित्रका निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा सक्रिय छन्। निर्माता पोखरेलले चलचित्रको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्नेछन्।
चलचित्रका गीतहरूमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ। सङ्गीत भने वरिष्ठ सङ्गीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले दिनेछन्। निर्माण पक्षका अनुसार, शान्ति ठटालसँग दुई महिनाअघि नै उनको निवासमा पुगेर सङ्गीतको लागि अनुमति लिइएको थियो।
चलचित्रको छायाङ्कन आगामी भदौ २६ गतेदेखि म्याग्दीका सुन्दर स्थानहरूमा हुनेछ।



