
काठमाडौं – टेलिचलचित्रबाट ख्याति कमाएका निर्देशक मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले आफ्नो पहिलो फिचर चलचित्र ‘गोबर गणेश’को शुभ मुहूर्त गरेका छन् । मङ्गलवार काठमाडौँको म्हेपी मन्दिरमा क्यामेरा पूजासहित चलचित्रको औपचारिक छायाङ्कन सुरु गरिएको हो ।
शुभ मुहूर्त कार्यक्रममा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फुटाएर र कलाकार रवि गिरीले क्ल्याप हानेर चलचित्रको शुभारम्भ गरिएको थियो । यो चलचित्रलाई बल्छी धुर्बे फिल्म्सले निर्माण गर्दैछ ।
निर्देशक श्रेष्ठका अनुसार, करिब ३५ दिनको छायाङ्कन तालिका रहेको यो चलचित्रको छायाङ्कन काठमाडौँबाट सुरु भई पोखरा लगायतका विभिन्न स्थानमा हुनेछ । शुभ मुहूर्त समारोहमा बोल्दै निर्देशक श्रेष्ठले ठुलो पर्दाका दर्शकले पनि सानो पर्दामा जस्तै माया र साथ दिने विश्वास व्यक्त गरे ।
चलचित्रमा प्रमुख भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी रहेकी छिन् । उनको साथमा निर्देशक श्रेष्ठ स्वयं, विनोद न्यौपाने, विल्सन विक्रम राई, निर्मल शर्मा, माओत्से गुरुङ र लक्ष्मीनाथ तिमलसेना लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ ।



