
काठमाडौं – चलचित्र ‘आ बाट आमा’ को कलाकारको सूची पूरा भएको छ। यस चलचित्रमा चर्चित कथा वाचक साइग्रेस पोखरेल भित्रिएसँगै कलाकारहरूको लाइनअप पूरा भएको हो।
चन्द्र पन्तको निर्देशन, कथा र पटकथामा बन्ने यो चलचित्र भदौ १२ गतेदेखि छायाङ्कनमा जाने तयारीमा छ। यही कारण निर्माण पक्षले कलाकार र प्राविधिक टिमलाई अन्तिम रूप दिइरहेको थियो। साइग्रेस अनुबन्ध हुनु केही दिनअघि मात्रै यस चलचित्रमा मोडल तथा अभिनेत्री उषा उप्रेतीलाई पनि अनुबन्ध गरिएको थियो।
अब ‘आ बाट आमा’ मा साइग्रेस र उषाका साथमा पल शाह, सदाबहार अभिनेत्री बिपना थापा, र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय देख्न पाइनेछ।
कृष्ण प्रसाद सुवेदीले निर्माण गरिरहेको यस फिल्ममा ध्रुव न्यौपाने र प्रकाश कुँवर पनि निर्माताको रूपमा जोडिएका छन्।



