‘माग्ने राजा’ को प्रचार तीव्र, शुक्रवारदेखि प्रदर्शनमा आउँदै



काठमाडौं – आउँदो शुक्रवार, भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘माग्ने राजा’ को निर्माण पक्षले यति बेला प्रचारप्रसारलाई व्यापकता दिएको छ। विशेष गरी काठमाडौंका कलेजहरू र विभिन्न कार्यक्रममा पुगेर चलचित्र समूहले प्रचार गरिरहेको छ। यसै क्रममा मङ्गलवार, निर्माण पक्ष काठमाडौंको चुच्चेपाटीस्थित मनास्लु स्कुल तथा कलेज पुगेको थियो। कार्यक्रममा चलचित्रका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र निर्देशक ऋषि लामिछानेले विद्यार्थीहरूलाई चलचित्र हेर्न आग्रह गरे। त्यस क्रममा माग्ने बुढाले चलचित्रको लोकप्रिय गीत ‘म त सुतेर उठेको पैसामा’ मा विद्यार्थीहरूसँग रमाइलो नृत्य पनि प्रस्तुत गरे।

चलचित्र ‘माग्ने राजा’ ले केही दिनअघि मात्रै सेन्सर बोर्डबाट ‘युनिभर्सल’ प्रमाणपत्र पाएको छ, जसले गर्दा यो चलचित्र सबै उमेर समूहका दर्शकका लागि उपयुक्त भएको छ। मङ्गलवारबाटै चलचित्रको अग्रिम टिकट बुकिङ पनि खुल्ला गरिएको छ।

निर्माण पक्षका अनुसार सुरुवाती चरणमा सिनेमा हलहरूबाट राम्रो ‘शो’ पाएको छ। बुधवार साँझसम्ममा देशभरका अधिकांश मल्टीप्लेक्स र सिङ्गल स्क्रिनहरूमा पनि अग्रिम टिकट बुकिङ खुल्ला हुने अपेक्षा गरिएको छ।

ऋषि लामिछाने निर्देशित यो चलचित्रलाई मुनाल घिमिरेले निर्माण गरेका हुन्। चलचित्रमा केदार प्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल, लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रमा अभिनेता आर्यन सिग्देलको विशेष भूमिका पनि देख्न सकिन्छ।

आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन्। यसको कथा, पटकथा र संवाद सामीप्य राज तिमल्सेनाले लेखेका छन्, भने दीपक शर्मा र बाबुल गिरीले सङ्गीत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu