
काठमाडौं – नेपाली चलचित्रका दुई फरक पुस्ताका चर्चित नायकहरू राजबल्लभ कोइराला र प्रदीप खड्का एकै ठाउँमा देखिएका छन्। ‘रोमान्टिक हिरो’को छवि बनाएका यी दुई सुपरस्टारले गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘एक्टर: टेक वन’ मा पहिलो पटक सँगै काम गरेका थिए। उक्त चलचित्रमा उनीहरू एक अर्काका प्रतिस्पर्धीको भूमिकामा देखिएका थिए।
चलचित्रको रिलिज भएपछि पनि उनीहरूको मित्रता कायम छ। हालै अमेरिकामा आयोजित ‘एक्टर: टेक वन’ को विशेष प्रदर्शनमा पनि यी दुई सँगै उपस्थित थिए।
यसै बिच, राजबल्लभले आफ्नो युट्युब च्यानलमा ‘कुरा र कथा’ नामक एक नयाँ शृङ्खला सुरु गरेका छन्। यसको पहिलो भागमा उनी प्रदीप खड्कासँग गाडीमा कुराकानी गरिरहेको देख्न सकिन्छ।
२३ मिनेट लामो उक्त भिडियोमा दुवैले आफ्नो पढाइ र अभिनय यात्राका बारेमा खुलेर कुरा गरेका छन्। कुराकानीका क्रममा राजबल्लभले प्रदीपलाई सोधे, “यदि तिमी अभिनेता नभएको भए के हुन्थ्यौ?”
यस प्रश्नको जवाफ दिँदै प्रदीपले भने, “म सायद कुनै कम्प्युटर हाउसमा काम गरिरहेको हुन्थेँ। मैले एमबिएमा मार्केटिङ पढेको छु, र प्लस टुमा व्यवस्थापन विषय रोज्नुको कारण म धेरै मेहनत गर्न मन नपराउने मान्छे हुँ। ९ देखि ५ बजेसम्मको जागिर गर्नुपर्छ भनेर मैले विज्ञान विषय पढिनँ।”
सोही कुराकानीमा राजबल्लभले भने आफू सानैदेखि कलाकार बन्ने सपना देखेको कुरा सुनाए। उनले भने, “कक्षा ६ मा हुँदा शिक्षकले भविष्यमा के बन्छौ भनेर सोध्दा मैले ‘अभिनेता बन्छु’ भनेको अझै पनि याद छ। सायद त्यही बेला नै मैले कलाकार बन्ने निर्णय गरिसकेको थिएँ।”
यी दुईको कुराकानी दर्शकहरूले निकै मन पराएका छन् र यो भिडियो सामाजिक सञ्जालमा चर्चामा रहेको छ।



