
काठमाडौं – नेपाली चलचित्रको इतिहासमा, केही चलचित्रले दर्शकको मनमा गहिरो छाप छोड्ने गर्छन्। यही क्रममा हिजो प्रिमियर भएको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले दर्शकको आँखामा आँसु मात्र ल्याएन, उनीहरूको मुटुसमेत छोएको छ। नयाँ बानेश्वरको वान सिनेमाजमा आयोजित प्रिमियरमा उपस्थित अधिकांश दर्शकहरूले यस चलचित्रलाई एक भावनात्मक यात्राको रूपमा व्याख्या गरेका छन्।
बुधवार आयोजित प्रिमियरमा उपस्थित वरिष्ठ कलाकार, छायाकार, लेखक तथा अन्य सिनेकर्मीले चलचित्रको प्रशंसा गर्दै यसले पारिवारिक सम्बन्धको मर्मलाई सफलतापूर्वक प्रस्तुत गरेको बताएका छन्। अग्रज कलाकार सुनिल थापा, वरिष्ठ छायाकार गौरीशङ्कर धुजु, अभिनेता जितु नेपाल, कवि विप्लव प्रतीक, गायिका अन्जु पन्त, कलाकार कमलमणि नेपाल लगायतका चर्चित व्यक्तित्वहरूको उपस्थितिमा चलचित्र हेर्दा उनीहरूमा नोस्टाल्जियाको भाव देखिएको थियो।
चलचित्रले बुवा-आमा, दाजुभाइ, र सन्तानबिचको सम्बन्ध, त्याग, र जिम्मेवारीलाई यस्तो मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। अभिनेत्री केकी अधिकारी र गायिका अन्जु पन्त जस्ता कलाकार पनि भावुक हुँदै रोएको दृश्य हलमा देखिएको थियो।
प्रिमियरमा सहभागीले चलचित्र हेरेपछि यो आफ्नो मात्र कथा नभई हरेक परिवारको कथा भएको प्रतिक्रिया दिएका छन्। चलचित्रले सपना पूरा गर्न गरिने सङ्घर्ष, पारिवारिक मूल्यमान्यता, र बुवा-आमाले सन्तानका लागि गर्ने सम्झौताको कथालाई उजागर गरेको छ।
‘पूर्णबहादुरको सारङ्गी’ को सफलतापछि विजय बरालको मुख्य भूमिका रहेको यो वर्षको पहिलो चलचित्र हो। यसमा उनीसँगै केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोला राज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, र सुमन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
पेपरक्लिप ब्यानरमा निर्माण भएको यो चलचित्रमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माताको रूपमा काम गरेका छन्, भने कार्यकारी निर्माताहरूमा नारायण तिम्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महर्जन रहेका छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीले चलचित्रमा सङ्गीत दिएका छन्। यसको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। यस चलचित्रले भोली शुक्रवारदेखि दर्शकहरूका लागि प्रदर्शनमा आउदैछ।



