जीवन जिउन सिकाउने चलचित्र ‘ताराहरू’को प्रिमियर



काठमाडौं – मानसिक स्वास्थ्यको संवेदनशील विषयलाई मुख्य कथावस्तु बनाएको चलचित्र ‘ताराहरू’ को काठमाडौंमा भव्य प्रिमियर शो सम्पन्न भएको छ। चलचित्रले कलाकार, लेखक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ।

कलाकार कर्मा शाक्यले यसलाई “मन छुने” कथा भनेका छन्। उनले निर्देशक आशान्त शर्माको प्रशंसा गर्दै चलचित्रको कथाले आफूलाई गहिरो प्रभाव पारेको बताए। त्यसै गरी, कलाकार लुनिभा तुलाधरले चलचित्रले सामान्य मानिसको कथालाई प्रभावशाली तरिकाले प्रस्तुत गरेकोमा सराहना गरिन्। उनले भनिन्, “यो चलचित्रले मानसिक स्वास्थ्यको कुरा गर्छ, जुन आजको समयमा अत्यन्तै आवश्यक छ। काठमाडौँको व्यस्त जीवनशैलीमा मानिसहरू सामाजिक सञ्जालको प्रभावबाट मानसिक समस्याको सिकार भइरहेका छन्। यस्तो अवस्थामा यो चलचित्रले हँसाउँदै र रुवाउँदै जीवनको यथार्थसँग जोड्छ।”

कलाकार हेना नगरकोटीले ‘ताराहरू’ हेरेपछि यसका पात्रहरू जस्तै भूमिकामा काम गर्न मन लागेको इच्छा व्यक्त गरिन्। उनले भनिन्, “ठुला बजेट र प्रचार–प्रसार भएका चलचित्रहरूले मात्र ध्यान पाउँछन्, तर वास्तविक कला यस्ता साधारण तर गहिरो सिर्जनामा भेटिन्छ। यदि दर्शकले नाचगान, एक्सन मात्र नखोजी आफ्नो जीवनलाई ऐना जस्तै हेरेर आत्म निरीक्षण गराउने चलचित्र हेर्न चाहन्छन् भने ‘ताराहरू’ एक उत्कृष्ट विकल्प हो।”

निर्देशक आशान्त शर्माले आफूले पहिले नाटकको रूपमा प्रस्तुत गरेको ‘साथी, साथी आइदेऊ न’ को कथालाई नै चलचित्रको माध्यमबाट ठुलो पर्दामा उतारेको बताए। उनले किशोर मनोविज्ञान र मानसिक स्वास्थ्यमा आधारित यो कथालाई चलचित्र बनाउनुको मुख्य कारण यसको प्रभावकारी विषयवस्तु रहेको प्रस्ट पारे।

चलचित्रको कथा एक किशोरको वरिपरि घुम्छ, जो जीवनबाट निराश भई आत्महत्याको बाटोमा लाग्न खोज्छ। तर, उसका साथीहरूको साथले कसरी ऊ जीवन जिउन पुनः प्रेरित हुन्छ भन्ने नै यसको मुख्य सन्देश हो।

‘ताराहरू’ मा निर्देशक शर्माका साथै मेनुका प्रधान, कुन्दुन शाक्य, मिरा खड्का, प्रभाकर न्यौपाने, आभास अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु र विकास खनाल लगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu