
काठमाडौं – ‘झुमा लिम्बु एन्ड दि रैथाने’ ब्यान्डले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ। यो कन्सर्ट असोज ३ गते प्रदर्शनमा आउने चलचित्र ‘जारी २’ सँगको सहकार्यमा हुनेछ।
कन्सर्टको सुरुवात भदौ २१ गते काठमाडौँको ठमेलस्थित एलओडी क्लबबाट हुनेछ। यो साङ्गीतिक यात्रा नेपालका विभिन्न १० सहरमा सञ्चालन हुनेछ। हरेक सहरमा त्यहाँको स्थानीय कला, संस्कृति र सङ्गीतलाई विशेष प्राथमिकता दिइने गायिका झुमा लिम्बुले बताइन्।
कन्सर्टमा हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनी लगायतका लोकगीत र नृत्यहरू प्रस्तुत गरिनेछ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिम्बुले लोकसंगीतलाई मनोरञ्जनको साधन मात्र नभएर नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिबिम्बका रूपमा चित्रण गरिन्। ‘यो यात्राले संस्कृति र सङ्गीतलाई नयाँ पुस्तामा पुर्याउने आशा लिएका छौँ,’ उनले भनिन्। ‘रैथाने घुमफिर’ले गाउँ र सहरको सङ्गीत र संस्कृतिबिच पुलको काम गर्ने उनको विश्वास छ।
यस वर्ष नेपालमा मात्र आयोजना हुने यो कन्सर्टलाई अर्को वर्ष विदेशमा समेत लैजाने झुमा लिम्बुको योजना छ। हरेक प्रस्तुतिमा स्थानीय कलाकार, वाद्यवादन र संस्कृतिको सम्मान गर्दै विविधता प्रदर्शन गरिने बताइएको छ। ‘रैथाने घुमफिर’ का थप कार्यक्रमहरू बिस्तारै सार्वजनिक गरिने बताइएको छ।






