
काठमाडौं – असार र साउन महिनामा चलचित्र रिलिजको सङ्ख्या निकै कम भएपछि नेपाली चलचित्र उद्योगमा सुनसान छाएको थियो। यी दुई महिनामा जम्मा चार वटा मात्र चलचित्र प्रदर्शनमा आए। तर, भदौ महिनासँगै चलचित्र क्षेत्रमा चहलपहल बढेको छ। यो महिनाभरि ८ वटा चलचित्र रिलिज हुने तालिका छ, जसमध्ये तीन वटा फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ शुक्रवारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएका छन्। यी तीन वटै फिल्मले फरक-फरक विधा र कथावस्तुलाई समेटेका छन् भने स्थापित कलाकारहरूको अभिनयलाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गरेका छन्।
यी तीन चलचित्रमध्ये ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ ले हलमा तुलनात्मक रूपमा राम्रो शो पाएका छन्। देशभरका १४५ वटा शो पाएको ‘माग्ने राजा’ र ११५ वटा शो पाएको ‘जनै हराएको मान्छे’ को तुलनामा ‘ताराहरू’ लाई भने ३० वटा शो मात्र दिइएको छ। यद्यपि, प्रारम्भिक शो सङ्ख्याले मात्रै कुनै पनि चलचित्रको व्यावसायिक सफलताको ग्यारेन्टी गर्दैन। चलचित्रको व्यापारिक भविष्य अन्ततः दर्शकको प्रतिक्रियामा निर्भर हुन्छ।
‘माग्ने राजा’: लोकप्रिय हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले मुख्य भूमिकामा अभिनय गरेको यो चलचित्र हो। ‘सुतेर उठेको पैसामा’ बोलको गीतका कारण चर्चामा रहेको यस फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई र शारदा गिरीको पनि अभिनय छ। ऋषि लामिछाने निर्देशित यस फिल्मका निर्माता मुनाल घिमिरे हुन्। चलचित्रले एक सामान्य भूइँमान्छेको धनी बन्ने महत्त्वाकाङ्क्षालाई हास्य र व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ।
‘जनै हराएको मान्छे’: हिमाल न्यौपानेको निर्देशनमा बनेको यो चलचित्र बाबु-छोरा र दिदी-भाइको सम्बन्धमा आधारित छ। यसमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, रेअर राई, भावना खपाङ्गी मगर र सुमन थापा जस्ता कलाकारहरूको अभिनय रहेको छ। कमल न्यौपाने र विमल न्यौपानेले संयुक्त रूपमा निर्माण गरेको यो फिल्मले भावनात्मक कथालाई प्राथमिकता दिएको छ।
‘ताराहरू’: कलाकार आशान्त शर्माले निर्देशन गरेको यो चलचित्रमा उनकै मुख्य भूमिका रहेको छ भने मेनुका प्रधान, कुन्दुन शाक्य र मिरा खड्का लगायतका कलाकारको पनि अभिनय छ। जीवनदेखि निराश भएर आत्महत्याको बाटो रोज्न लागेको एक किशोरलाई उसका साथीहरूले कसरी जीवन बाँच्न प्रेरित गर्छन् भन्ने मार्मिक कथामा यो चलचित्र आधारित छ। आशान्तले पहिलो पटक चलचित्र निर्देशन गरेका हुन्।






