
काठमाडौं – चलचित्र विकास बोर्डले देशभरका सिनेमा हलहरूमा लागू गरिएको बक्स अफिस प्रणालीको प्रभावकारिता जाँच्न अनुगमनलाई तीव्रता दिएको छ। २०८२ साउन २९ देखि भदौ ४ गतेसम्म बोर्डले काठमाडौं उपत्यका र उपत्यकाबाहिरका ६० वटा सिनेमा हलको निरीक्षण गरेको छ।
बोर्डका सदस्य गणेश सुवेदीको नेतृत्वमा २२ जनाको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी र पाल्पा जस्ता जिल्लामा अनुगमन गरेको हो। अनुगमनका क्रममा अधिकांश हलले बक्स अफिस प्रणालीको पूर्ण पालना गरेको पाइए पनि दुई वटा सिङ्गल थिएटरमा भने म्यानुअल टिकट बिक्री भइरहेको भेटिएको छ। ती हलहरूले ‘सिस्टम बिग्रिएको’ बहाना बनाएर बोर्डलाई जानकारी नदिई अवैध रूपमा टिकट बेचिरहेका थिए।
बोर्डका अनुसार, नियम विपरीत कार्य गर्ने ती दुई हललाई नियमानुसार दण्ड जरिवाना गरिनेछ। बोर्डले नियमित अनुगमनले हलहरूलाई नियमनमा राख्न, सरकारी शुल्क समयमै बुझाउन प्रोत्साहित गर्न र बक्स अफिस प्रणालीलाई अझै प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिएको छ। यसअघि २०८१ मङ्सिरमा गरिएको अनुगमनमा पनि १४ जिल्लाका ९ वटा हल कारबाहीमा परेका थिए भने ३ वटा हलमा जिल्ला प्रशासनको सहयोगमा ताला लगाइएको थियो।






