
काठमाडौं – निर्देशक लक्ष्मण रिजालले करिब ८ वर्षपछि चलचित्र निर्देशनमा कमब्याक गरेका छन्। उनको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘काजी’को शुभ मुहूर्त गरिएको छ। शुक्रवार दक्षिणकाली मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण टिम सुटिङका लागि स्याङ्जा प्रस्थान गरेको छ।
निर्देशक रिजालका अनुसार चलचित्रको छायाङ्कन आइतबार, भदौ ८ गतेबाट सुरु हुनेछ। आफूले खोजेको जस्तै उत्कृष्ट स्क्रिप्ट पाएपछि निर्देशनमा फर्किएको उनले बताए। यसअघि उनले ‘कसम’, ‘धुवाँ यो नसा’, ‘अलबिदा’, ‘कायरा’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्। त्यसका साथै, उनी ‘डिसेम्बर फल्स’ र ‘गणपति’ जस्ता चलचित्रका निर्माता पनि हुन्।
आर एन्ड आर प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो सामाजिक प्रेमकथामा आधारित चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गर्दैछन्। उनी यस चलचित्रलाई आफ्ना अघिल्ला निर्माणका कमजोरीलाई सुधारेर उत्कृष्ट बनाउने प्रयासमा रहेको बताउँछन्।
चलचित्रमा मुख्य कलाकारको रूपमा विपिन कार्की, केकी अधिकारी र गरिमा शर्माको अभिनय रहनेछ।






