‘माइतीघर’को शीर्ष गीत खिच्न ११ दिन, ५० लाख खर्च गरिएको दाबी



काठमाडौं – असोज १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’ यति बेला प्रचारप्रसारको दौडमा छ । चलचित्र निर्माण टोलीले यसैबिच आफ्नो शीर्ष गीतको छायाङ्कन सम्पन्न गरेको छ । यो गीत छायाङ्कनका लागि मात्रै ११ दिन खर्च गरिएको निर्माता रोहित अधिकारीले बताए ।

यसअघि पनि यो गीतको छायाङ्कन बागलुङमा गरिएको भए पनि निर्माण टोलीले ती दृश्यहरूलाई प्रयोग नगरेको अधिकारीको भनाइ छ । उनले‘माइतीघर’को गीतलाई पूर्ण रूपमा नयाँ शैलीमा खिचेको जनाएका छन् । यसको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

निर्माता अधिकारीले यो गीतको भिडियो बनाउन ५० लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन् । चलचित्रका मुख्य कलाकारहरू उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पाले यो गीतमा नृत्य गरेका छन् । गीतमा कोरसको ठुलो टोली प्रयोग गरिएकोले पनि लागत बढेको निर्माण पक्षले स्पष्ट पारेको छ । ऐतिहासिक महत्त्व बोकेको गीत भएकाले यसको भिडियो निर्माणमा कुनै सम्झौता नगरिएको निर्माताले दाबी गरेका छन् ।

रोहित अधिकारी फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रको गीत अर्को साता सार्वजनिक गर्ने तयारी छ । निर्माण टोलीले यो गीतमा आधारित ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउने उत्कृष्ट एक जनालाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको छ । भारतीय गायिका सञ्जीवनीले यो गीतमा आफ्नो स्वर दिएकी छिन् ।

मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, युवराज लामा, बुद्ध तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, र सङ्गीता थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा र संवाद रामशरण पाठकको रहेको छ । सुशन प्रजापतिको डीओपी रहेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् । रविन शेरचन र धिरज तामाङको लगानी रहेको यस चलचित्रका कार्यकारी निर्माताहरू ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu