गाउँले प्रेम, सङ्घर्ष र सामाजिक यथार्थमा आधारित ‘रिमै’को ट्रेलर सार्वजनिक



काठमाडौं – निर्देशक खिलबहादुर गुरुङको चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक भएको छ। करिब साढे तीन मिनेट लामो यो ट्रेलरले गाउँले जीवनको प्रेम, सङ्घर्ष र सामाजिक यथार्थको कथालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।

ट्रेलरमा अभिनेता दयाहाङ राईलाई ग्रामीण परिवेशमा सङ्घर्षरत युवकको भूमिकामा देखाइएको छ। रिश्मा गुरुङसँगको उनको प्रेम भाव निकै जीवन्त र भावनात्मक लाग्छ। यसै गरी, अभिनेता अर्पण थापा र अभिनेत्री गौमाया गुरुङको सशक्त भूमिकाले कथालाई अझै रहस्यमय र रोचक बनाएको छ। ट्रेलरले परम्परा, संस्कार र आधुनिक जीवनशैलीबिचको द्वन्द्वलाई पनि सङ्केत गरेको छ।

अघिल्लो पटक सार्वजनिक भएको पोस्टर र टिजरबाटै चर्चामा आएको ‘रिमै’को ट्रेलरमा संवाद, छायाङ्कन र ब्याकग्राउन्ड म्युजिकको उत्कृष्ट संयोजन छ। यसले दर्शकलाई फिल्मको गाउँले परिवेशमा सजिलै जोड्न सफल भएको छ।

गोरखा सिरानचोक एन्ड लिगलिग कोट फिल्मस् र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, बिरबल घले, डिवी गुरुङ, टेक गुरुङ, असीम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय रहेको छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाले पटकथा लेखेको यो चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले छायाङ्कन गरेका हुन्। बिरबल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता रहेका छन्।

यसका साथै, चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको सङ्गीत, किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन, विष्णु मैनालीको प्रोडक्सन व्यवस्थापन र मित्र डि गुरुङको सम्पादन रहेको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu