
काठमाडौ – आउँदो तिहारको अवसर पारेर असोज ३१ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमपश्चात् सार्वजनिक गरिएको टिजरले चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको सङ्केत दिएको छ। टिजरमा मुख्य तीन पात्रबिचको प्रेम, मित्रता र सङ्घर्षलाई जोड दिइएको छ।
लगभग २ मिनेट लामो टिजरको सुरुवातमै सगरमाथाको भव्य दृश्य देखाइएको छ। जहाँ कलाकार शिशिर बाङ्देलको प्रभावशाली आवाजमा सुनिन्छ, ‘सगरमाथा चोमोलुङ यानिकी माउन्ट एभरेस्ट। हेर्दा जति सुन्दर, त्यति नै क्रूर। त्यहाँ एक गलत कदम, एन इस्ट एभर रेस्ट।’ यसै भ्वाइस ओभरको पृष्ठभूमिमा सगरमाथा आरोहणका क्रममा पात्रहरूले भोगेका चुनौती र कठिनाइहरू देखाइएको छ।
टिजरले सगरमाथाको पृष्ठभूमिबाट दर्शकलाई चलचित्रका मुख्य पात्रहरू अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ बिचको सम्बन्धमा आउने उतारचढावमा प्रवेश गराउँछ। टिजरको अन्त्यमा भने फेरि सगरमाथाको दृश्य दोहोरिन्छ, जहाँ अनमोल र जसिता हिउँको वर्षाबिच थकित अवस्थामा सुतिरहेको देखिन्छन्।
‘फर्की फर्की’ फेम्ड निर्देशक सुयोग गुरुङले निर्देशन गरेको यो चलचित्रमा अनमोल, आँचल र जसिताका अलावा भुवन केसी, केदार घिमिरे (माग्ने बुढा), सुरक्षा पन्त र उषा खड्की लगायतका कलाकारको पनि अभिनय रहेको छ। अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेले यसको निर्माण गरेका हुन्। न्यौपानेले यसअघि ‘सम्बोधन’ र ‘ग्याङस्टर ब्लूज’ जस्ता चलचित्र निर्माण गरिसकेका छन्।
यस चलचित्रको निर्माणमा सरोजलाई रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साथ दिएका छन् भने अनुराधा गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। चलचित्रमा कालीप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको सङ्गीत रहेको छ। यसको कथा हेमराज बिसीको हो भने पटकथा विश्वास तिम्सिनाले तयार पारेका हुन् र छायाङ्कन दुलिप रेग्मीले गरेका छन्।
टिजर:






