
काठमाडौं – निर्माता किरण नेपालीले अब निर्देशनमा पनि पाइला चालेका छन्। उनको पहिलो निर्देशित फिल्म ‘महादशा’ निर्माण हुने भएको छ। बुधवार काठमाडौंमा एक विशेष कार्यक्रमबिच फिल्मको नाम घोषणा गरिनुका साथै यसको प्रि-टिजर पनि सार्वजनिक गरिएको छ।
सार्वजनिक गरिएको प्रि-टिजरमा प्रमुख कलाकारहरू प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत पहिरनमा देखाइएको छ। यद्यपि, चलचित्रका अन्य कलाकारहरूको बारेमा भने निर्माण पक्षले तत्काल कुनै जानकारी दिएको छैन।
यसमा लेखन मनिष गौतमको रहेको छ। यसमा राजे के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्, भने सुरज आचार्य कार्यकारी निर्माताको भूमिकामा छन्।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘महादशा’ मार्फत निर्देशनमा डेब्यु गरे पनि नेपालीले यसअघि थुप्रै चलचित्रमा निर्माताको रूपमा काम गरिसकेका छन्। ‘महादशा’ले नेपाली समाजका संस्कार, संस्कृति र आध्यात्मिक पक्षहरूलाई समेट्ने बताइएको छ। साथै, यसले समाजमा लुकेका रहस्यमय घटनाहरू र मानिसको जीवनमा ग्रह-नक्षत्र तथा कर्मको प्रभावलाई पनि गहिरोसँग केलाउने निर्माण पक्षले जनाएको छ।






