
काठमाडौं – लामो समयदेखि चर्चामा रहेको अभिनेता धिरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबीचको विवाद अन्ततः समाधान भएको छ। निर्माताले अभिनेता मगरविरुद्ध चलचित्र निर्माता सङ्घमा १४ करोडभन्दा बढीको क्षतिपूर्ति दाबी गर्दै उजुरी दिएका थिए, जुन आपसी समझदारीमा टुङ्गिएको छ।
निर्माता कम्पनी मल्टिमेट प्रालिका तर्फबाट कमलबहादुर आलेले भदौ २ गते निर्माता सङ्घमा उजुरी दर्ता गराएका थिए। उजुरीमा धिरजले ‘ऐरी’को छायाङ्कनमा असहयोग गरेको र त्यसबाट फिल्मलाई करिब १५ करोड आर्थिक क्षति भएको दाबी गरिएको थियो।
उजुरीपछि निर्माता सङ्घले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो। सङ्घका अध्यक्ष नवल खड्काका अनुसार, सङ्घको रोहबरमा भएको छलफलपछि धिरजले बाँकी छायाङ्कनका लागि समय दिने सहमति भएको छ। यसका साथै, भविष्यमा कुनै समस्या आएमा दुवै पक्ष बसेर समाधान गर्ने गरी आपसी समझदारी पनि कायम भएको छ।
निर्माताका अनुसार, अभिनेता धिरजले ‘ऐरी’को १६ दिन मात्र छायाङ्कनमा सहभागी भएका थिए। सम्झौताअनुसार बाँकी २८ दिनको छायाङ्कनमा उनी अनुपस्थित रहेको आरोप लगाइएको थियो। १० लाख रुपैयाँ पारिश्रमिकमध्ये ४ लाख रुपैयाँ अग्रिम भुक्तानी दिँदा पनि धिरजले सुटिङमा सहयोग नगरेको निर्माताको भनाइ थियो।
यसअघि, झन्डै एक महिनासम्म बागलुङको ढोरपाटन क्षेत्रमा फिल्मको छायाङ्कन चलेको थियो। करिब १ वर्षसम्म चल्ने भनिएको छायाङ्कन यही विवादका कारण रोकिएको थियो। अहिले विवाद समाधान भएसँगै फिल्मको छायाङ्कनले पुनः गति लिने अपेक्षा गरिएको छ।






