
काठमाडौं – नेपाली चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को प्रि–बुकिङ सुरु भएको छ। भोलि, भदौ १३ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रले हलहरूमा सन्तोषजनक शो पाएको छ।
बजारमा अन्य नेपाली चलचित्र जस्तै ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’ र ‘कोशेढुंगा’ ले पनि स्थान लिएको हुँदा यस चलचित्रले अपेक्षित शो नपाएको हो। यद्यपि, क्यूएफएक्सजस्ता ठुला मल्टिप्लेक्स चेनले यसलाई प्राथमिकता दिएका छन्। क्यूएफएक्सले काठमाडौँमा मात्रै सुरुवाती दिनका लागि १४ वटा शो दिएको छ, जुन सङ्ख्या दर्शकको चापअनुसार बढ्न सक्ने सम्भावना छ।
समुन्द्र भट्टको निर्देशनमा बनेको यो चलचित्र एक पारालैंगिक महिला (ट्रान्सवुमन) को कथामा आधारित छ। यसलाई नेपालको पहिलो पूर्ण ट्रान्स स्टोरी भनिएको छ, जसमा अभिनेता नाजिर हुसेनले मुख्य भूमिका निभाएका छन्। चलचित्रको ट्रेलर सार्वजनिक भएपछि नाजिरको अभिनयको प्रशंसा भइरहेको छ, जसले निर्माण पक्षलाई दर्शकले चलचित्र मन पराउनेमा विश्वस्त बनाएको छ।
चलचित्रको निर्माणमा हलिउडसँगको सहकार्य विशेष उल्लेख्य छ। यसको पोस्ट–प्रोडक्सन सम्पूर्ण काम (एडिटिङ, कलर, मिक्सिङ, साउन्ड डिजाइन) हलिउड शैलीमा विदेशमा गरिएको छ। यसमा हलिउडकी चर्चित कलाकार लिजा जेरार्ड ले स्वर दिएकी छन्, जो हलिउडको प्रसिद्ध चलचित्र ‘ग्ल्याडिएटर–२’ मा पनि जोडिएकी थिइन्।
आकाश बुढाथोकी र भि–भन्से जानुबोन को लगानी रहेको यस चलचित्रका कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन्। अनुपम श्रेष्ठ सहयोगी निर्माताको भूमिकामा छन्। चलचित्रमा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी को पनि अभिनय रहेको छ। आलोक शुक्ला ले छायाङ्कन गरेको यस चलचित्रमा लेखु सहयात्री को गीत रचना रहेको छ। यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केट मा समेत छनोट भएको थियो।






