
काठमाडौं – ऋषि पञ्चमीको शुभ साइत पारेर नयाँ नेपाली चलचित्र ‘स्त्री’ को औपचारिक निर्माण घोषणा गरिएको छ। काठमाडौंको कमलादीस्थित गणेश स्थान मन्दिरमा मङ्गलवार आयोजित एक समारोहबिच क्यामेरा पूजासहित फिल्मको शुभ मुहूर्त सम्पन्न भयो।
जीवन शाहीको लेखन र निर्देशनमा बन्ने यो चलचित्रको छायाङ्कन आगामी भदौ १४ गतेबाट सुरु हुनेछ। निर्देशक शाहीका अनुसार काठमाडौँ र आसपासका क्षेत्रमा फिल्मको ३५ दिने छायाङ्कन तालिका तय भएको छ।
सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रको मुख्य भूमिकामा अभिनेता प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठ रहनेछन्। बाल कलाकारमा दिप्सन चिलवाल ले अभिनय गर्नेछन्।
‘मेला रेकर्डिङ्ग स्टुडियो’ को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका निर्माता समिर राई हुन्। पटकथा निर्देशक शाही र किशन अर्याल मिलेर तयार पारेका हुन्।






