लैङ्गिक अल्पसङ्ख्यकको कथा बोकेको चलचित्र ‘गुन्यु चोलो’ प्रदर्शनमा



काठमाडौं – लैङ्गिक अल्पसङ्ख्यक पात्रको कथामा आधारित चलचित्र ‘गुन्यु चोलो: द ड्रेस’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। शुक्रवार रिलिजको परम्पराअनुसार, यसले देशभर सन्तोषजनक शोहरू प्राप्त गरेको छ।

ट्रेलर र गीतमा अभिनेता नाजिर हुसेनको दमदार प्रस्तुतिले दर्शकको ध्यान खिचेकाले चलचित्रले राम्रो प्रतिक्रिया पाउनेमा निर्माण पक्ष आशावादी छ। ‘गुन्यु चोलो’ मा नाजिरले एक पारालैंगिक महिला (ट्रान्सवुमन) को मुख्य भूमिका निभाएका छन्।

समुन्द्र भट्टले निर्देशन गरेको यो चलचित्र नेपालको पहिलो पूर्ण ट्रान्स स्टोरीमा आधारित मानिएको छ। यसको निर्माणमा नेपाली र हलिउड चलचित्र प्रोडक्सन हाउसको संयुक्त सहकार्य रहेको छ। चलचित्रको सम्पूर्ण पोस्ट-प्रोडक्सन हलिउड शैलीमा विदेशमा गरिएको छ, जसमा सम्पादन, कलर ग्रेडिङ, साउन्ड मिक्सिङ र ब्याकग्राउन्ड म्युजिकसम्मको काम पर्छ।

हलिउड चलचित्र ‘ग्ल्याडिएटर–२’ मा आवाज दिएकी प्रख्यात कलाकार लिजा जेरार्डले ‘गुन्यु चोलो’ मा पनि आफ्नो स्वर दिएकी छिन्। चलचित्रको ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्।

चलचित्रमा नाजिर हुसेनका साथै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी लगायतका कलाकारको पनि महत्त्वपूर्ण भूमिका छ।

आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानीमा बनेको यस चलचित्रका कार्यकारी निर्माताहरू जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माता हुन्। आलोक शुक्लाले छायाङ्कन गरेको यस चलचित्रमा लेखु सहयात्रीले गीत रचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu