चलचित्र ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते प्रदर्शन हुने



काठमाडौं – नेपाली चलचित्र ‘शिवांश : च्याप्टर–१’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले एक आकर्षक पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी कात्तिक २७ गते देशभरका सिनेमा हलहरूमा रिलिज हुने जानकारी दिएको छ।

पोस्टरमा कैलाश पर्वतको पृष्ठभूमिमा जटाधारी शिवलाई देखाइएको छ, जसले पर्वत चढिरहेका छन्। साथै, शिवको वाहन मानिने साँढेको निधारमा त्रिशूलको चिह्न अङ्कित छ। यसको अर्थ र चलचित्रसँग यसको के सम्बन्ध छ भन्नेबारे भने अहिले कुनै जानकारी दिइएको छैन।

पोखरा आसपासमा छायाङ्कन गरिएको यो चलचित्र हाल पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको छ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई निर्देशक सन्तोष कुमार आत्रेयले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। चलचित्रका निर्माता अञ्जान केसी हुन्, जसले यसको कथा पनि लेखेका छन्।

‘शिवांश : च्याप्टर–१’ मा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिका रहेको छ। साथै, विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा र टीका निरौलालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। चलचित्रको पटकथा (स्क्रिनप्ले) बारत लिम्बूले तयार पारेका हुन् भने सुलक्षण भारतीले स्क्रिप्ट डक्टरको भूमिका निभाएका छन्।

शोभा भण्डारी र अनिस केसी बोगटी सह-निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता शम्भु थापा हुन्।

चलचित्रमा सरद महतोको छायाङ्कन (डीओपी) रहेको छ। गीतमा विप्लव प्रतीक र राजनराज सिवाकोटीको शब्द रहेको छ भने न्ह्यू बज्राचार्य र राजनराज सिवाकोटीले सङ्गीत दिएका छन्। राजनराज सिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीले गीतमा स्वर दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu