
काठमाडौं – नेपालमा दुई दशकभन्दा बढी समयदेखि सिनेमा शिक्षा प्रदान गर्दै आएको अस्कर इन्टरनेसनल कलेजले आयोजना गरेको तेस्रो युवा लघु चलचित्र प्रतियोगिताको उपाधि उज्ज्वल श्रेष्ठ निर्देशित चलचित्र ‘इग्लू’ ले जितेको छ। नगद रु एक लाखसहित प्रथम पुरस्कार हात पारेको यस चलचित्रले लागूपदार्थको कुलतमा फसेकी बहिनी र उनको दाजुको सम्बन्धलाई एउटा काल्पनिक पात्रले कसरी नयाँ दिशा दिन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ।
सुकेधारास्थित कलेजकै ‘साधना घर’ प्रेक्षालयमा आयोजित एक विशेष समारोहका बीच शीर्ष १० चलचित्रहरूको प्रदर्शन गरिएको थियो। त्यस लगत्तै निर्णायकहरू शबनम मुखिया, सुजित बिडारी र नवीन चौहानले विजेता चलचित्रहरूको घोषणा गरेका थिए।
प्रतियोगितामा सफल रेग्मी को ‘उल्झन’ ले दोस्रो स्थान हासिल गर्दै नगद रु पचास हजार प्राप्त गरेको छ। यस चलचित्रले प्रविधिको दुरुपयोगका कारण एक जोडीले भोग्नुपरेको ऐँठनको कथालाई रोचक ढङ्गले प्रस्तुत गरेको छ। त्यसै गरी, विप्लव विश्वास को ‘सकर-बकर’ ले तेस्रो पुरस्कार जित्दै नगद रु पच्चीस हजार हात पारेको छ। यो चलचित्रले प्रयोगात्मक शैलीमा कथा वाचन गरेको छ।
यस पटकको जुरी पुरस्कार भने मिङ्ला लिम्बु निर्देशित चलचित्र ‘खेने नु आङ्गा’ लाई प्रदान गरिएको छ। यसले दुई युवतीबीचको सम्बन्धको कथालाई काव्यात्मक शैलीमा उजागर गरेको छ।
कलेजले विजेतालाई प्रदान गरिएको नगद पुरस्कारका अतिरिक्त सबै विजयी चलचित्रका निर्देशकहरूलाई कलेजमा भर्ना भएमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। २० वर्षमुनिका युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यस प्रतियोगितामा यस वर्ष ४० भन्दा बढी चलचित्र प्राप्त भएका थिए, जसमध्ये २१ चलचित्रहरूलाई प्रतियोगिताका लागि योग्य मानिएको आयोजकले जानकारी दिएको छ।






