
काठमाडौं – यस वर्षको पहिलो चार महिनामा प्रदर्शनमा आएका करिब दुई दर्जन नेपाली चलचित्रमध्ये जम्मा दुई वटाले मात्र व्यापारिक सफलता हासिल गरेका छन्। ‘ऊनको स्वीटर’ पछि अब ‘मोहर’ यो वर्षको दोस्रो हिट चलचित्र बन्न सफल भएको छ।
बताइए अनुसार ‘मोहर’ चलचित्रको निर्माण लागत प्रचारप्रसारसहित १ करोड ८६ लाख रुपैयाँ थियो। लगानी उठाउन फिल्मले कम्तीमा ४ करोड कमाउनुपर्ने अवस्था थियो। वितरकको दाबी अनुसार, चलचित्रले प्रदर्शनको चौथो सातासम्म ५ करोड ४२ लाख रुपैयाँको कुल कमाइ गरेर लगानी सुरक्षित गर्नुका साथै राम्रो नाफा पनि कमाएको छ।
‘वर्ड अफ माउथ’ को बलमा सफल भएको यो चलचित्रले चौथो हप्तामा पनि दर्शकको राम्रो उपस्थिति पाएको थियो। यसको कथावस्तु र कलाकारको अभिनयलाई दर्शकले निकै मन पराएका छन्। देशभर अझै १५ देखि २० वटा शोहरू चलिरहेकोले यो चलचित्रले ५१ दिन मनाउने सम्भावना प्रबल छ।
धेरैपछि आफ्नो मुख्य भूमिका रहेको चलचित्र सफल भएपछि अभिनेता पल शाहले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। उनले ‘मोहर’लाई माया गर्ने दर्शकहरूप्रति आभार प्रकट गर्दै यो सफलता दर्शककै कारण सम्भव भएको उल्लेख गरेका छन्।
‘मोहर’ को सफलताले अभिनेता पल शाह र अभिनेत्री नीति शाहको करियरमा ठुलो राहत दिएको छ। नीतिका लागि त यो पहिलो हिट चलचित्र हो भने पलका अघिल्ला दुई चलचित्र ‘रावायण’ र ‘मायावी’ असफल भएका थिए। ‘मोहर’ पनि सफल नभएको भए उनीहरूको करियरमा ठुलो सङ्कट आउन सक्थ्यो। यस अर्थमा, यो चलचित्र उनीहरूको करियरका लागि ‘सञ्जीवनी बुटी’ जस्तै साबित भएको छ।






