
काठमाडौं – नव निर्देशक एकता पौडेलको चलचित्र’हर्ष’का दुई पोस्टर सार्वजनिक गरिएको छ। सोमबार बिहान सार्वजनिक गरिएका पोस्टरले चलचित्रमा पारिवारिक कथावस्तु रहेको सङ्केत दिएका छन्। यो चलचित्र आगामी मङ्सिर १२ गते देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुनेछ।
दुवै पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरूलाई भिन्न-भिन्न भावमा प्रस्तुत गरिएको छ। पहिलो पोस्टरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत र शर्मिला मल्ललाई चलचित्रको नाम ‘हर्ष’ अनुरूप खुसी र मुस्कुराइरहेको देख्न सकिन्छ। त्यसै गरी, अभिनेता सन्तोष पन्तलाई भने केही असन्तुष्ट र छड्के हेराइमा प्रस्तुत गरिएको छ। यो पोस्टरमा खगेन्द्र र वर्षा आफ्ना छोराको भूमिकामा रहेका बाल कलाकार साइमन वादीसँग रमाइरहेका छन्।
दोस्रो पोस्टरमा पनि खगेन्द्र र वर्षाको जोडीलाई खुसी र प्रफुल्लित मुद्रामै देखाइएको छ। पोस्टरको नेपथ्यमा सम्भवतः चलचित्रको कुनै गीतको दृश्य हो जहाँ सन्तोष पन्तका साथमा विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ र अंशु महर्जन नाचिरहेका र खुसी मनाइरहेका छन्। यसै पोस्टरमा बाल कलाकार साइमनलाई बाल कृष्णको पहिरनमा देख्न सकिन्छ भने अभिनेता नीर शाह गम्भीर भावमा प्रस्तुत भएका छन्। यी दुई पोस्टरले पारिवारिक सम्बन्धमा आउने उतार-चढावको कथा भन्ने स्पष्ट सङ्केत दिएको छ, जसले नेपाली दर्शकहरूलाई लामो समयपछि एक पारिवारिक ड्रामा हेर्न पाउने अवसर प्रदान गर्नेछ।

निर्देशक एकता पौडेल, जो पारिवारिक चलचित्रका लागि चर्चित आफ्ना दिवङ्गत मामा निर्देशक शिव रेग्मीको विरासतलाई अगाडि बढाउँदै छिन्। यसअघि उनले चलचित्रको ‘टाइटल भिडियो’ पनि आफ्ना मामालाई स्मरण गर्दै सार्वजनिक गरेकी थिइन्।
‘हर्ष’ चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सङ्गीता नापित तथा बाल कलाकार साइमन वादीको सशक्त अभिनय रहेको छ। अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। चलचित्रमा आलोक शुक्लाको छायाङ्कन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ।
प्रसन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखल कार्यकारी निर्माता रहेको यस चलचित्रमा स्वर्गीय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे र नीरकमल खड्काको शब्द रचना रहेको छ।






