
काठमाडौं – नेपालको चलचित्र क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण योगदान दिँदै आएका ८६ जना विशिष्ट चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ। चाबहिलस्थित बोर्डको आफ्नै भवनमा सोमबार आयोजित विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा परिचयपत्र वितरण गरिएको हो।
बोर्डका अध्यक्ष दिनेश डि.सी.ले परिचयपत्रलाई “राष्ट्रले दिएको पहिचान” का रूपमा ग्रहण गर्न आग्रह गर्दै यो केवल सुविधाको कार्ड नभई चलचित्रकर्मीको गरिमा र गौरवको प्रतीक भएको बताए। उनले परिचयपत्रको महत्त्वबारे प्रस्ट पार्दै भने, “यसले चलचित्रकर्मीको छुट्टै पहिचान स्थापित गरेको छ। आगामी दिनमा थप सेवा सुविधा उपलब्ध गराउन बोर्ड प्रतिबद्ध छ।”
यस अवसरमा मन्त्री गुरुङले चलचित्रकर्मीको योगदानको प्रशंसा गर्दै महत्त्वपूर्ण घोषणाहरू गरेका छन्। उनले विशिष्ट चलचित्रकर्मी परिचयपत्र पाउनेलाई १ लाख ५० हजार रुपैयाँ र अन्य चलचित्रकर्मीलाई ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बिमा उपलब्ध गराउने जानकारी दिए। साथै, उनले असोज १५ लाई ‘राष्ट्रिय फिल्म दिवस’का रूपमा भव्यताका साथ मनाउन पनि आग्रह गरे।
बोर्डका अनुसार, यस पटक २० देखि ३० वर्षसम्म चलचित्र क्षेत्रमा योगदान पुर्याएका कलाकार, प्राविधिक र अन्य फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरिएको हो। कार्यक्रममा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जितु नेपाल, सुनिल थापा, शारदा गिरी, प्रदीपकुमार उदय, पुरुषोत्तम प्रधान लगायत ८६ जनालाई परिचयपत्र प्रदान गरियो।
समारोहमा अभिनेता बुद्धि तामाङलाई विशेष योगदान सम्मान प्रदान गरिएको थियो। साथै, ‘चलचित्र चे’ (लिम्बु भाषा) र ‘चलचित्र दिलसरा’ (मगर भाषा) लाई २ लाख रुपैयाँको प्रोत्साहन रकम हस्तान्तरण गरिएको छ।
कार्यक्रमको समापनमा अध्यक्ष डि.सी.ले धन्यवाद ज्ञापन गर्दै चलचित्र उद्योगको विकास र कलाकारहरूको सामाजिक-आर्थिक अवस्था सुधार्न बोर्ड निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।






