
काठमाडौं – आउँदै गरेको दसैँमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘ढाका टोपी शिरैमा’ बोलको गीतलाई सार्वजनिक गरिएको हो। लोक शैलीमा तयार पारिएको यस गीतमा गायक आशिष अविरल र गायिका मेलिना राई को स्वर रहेको छ भने दानबहादुर कार्की को शब्द र दीपक शर्मा को सङ्गीत रहेको छ।
गीतको भिडियोमा मुख्य कलाकार प्रकाश सपूत र स्वस्तिमा खड्का बीचको प्रेम र नोकझोंकलाई आकर्षक नृत्यको माध्यमबाट प्रस्तुत गरिएको छ। किरण थापा ले कोरियोग्राफी गरेको भिडियोमा प्रकाश र स्वस्तिमाको जोडीले एक अर्काप्रतिको आकर्षण र असहमतिको द्वन्द्वलाई रोचक ढङ्गले देखाएका छन्। यसै गरी, भिडियोका केही दृश्यमा वरिष्ठ कलाकार हरिवंश आचार्य लाई पनि देख्न सकिन्छ।
दीपेन्द्र के. खनाल निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ। चलचित्रमा हरिवंशले आफ्नो चर्चित पात्र हरिबहादुर को भूमिका निर्वाह गरेका छन्। उनले आफ्नो चोरको छवि भएको पात्रको भावनात्मक पाटोलाई चलचित्रमा उजागर गर्ने बताएका छन्।
सरोज ओली र मोहितवंश आचार्य ले निर्माण गरेको यस चलचित्रलाई कृष्ण बहादुर थापा ले छायाङ्कन गरेका हुन् भने नहकुल खड्का को सम्पादन रहेको छ। यसअघि सार्वजनिक भएको चलचित्रको पहिलो गीत ‘बेला बितेसी’ लाई दर्शकले निकै रुचाएका छन्। युट्युबमा २० लाख भन्दा बढी पटक हेरिएको सो गीतमाथि २ लाख भन्दा बढी टिकटक भिडियोहरू बनिसकेका छन्।
भिडियो:





