
काठमाडौं – आउँदो शुक्रवार, भदौ २० गते, प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रिमै’ को टिम यति बेला प्रचारप्रसारमा व्यस्त छ। हालै आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका मुख्य कलाकार दयाहाङ राईले ‘रिमै’ नेपाली चलचित्र उद्योगका लागि एउटा महत्त्वपूर्ण दस्ताबेज हुने बताएका छन्। उनले विशेष गरी गुरुङ समुदायको अध्ययन गर्न चाहनेका लागि यो चलचित्र एउटा बलियो सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरे।
‘चलचित्र निर्माण र प्रदर्शन सामान्य प्रक्रिया जस्तो लाग्न सक्छ,’ राईले भने, ‘तर, ‘रिमै’ भविष्यको पुस्ताका लागि एउटा सशक्त दस्ताबेज बन्नेछ। भोलि कसैले गुरुङ समुदाय, विशेष गरी गोरखाको माथिल्लो भेगका गुरुङहरूको संस्कृति र जीवनशैलीबारे अध्ययन गर्नुपर्यो भने यो चलचित्र एउटा उत्तम स्रोत हुनेछ।’ उनले विभिन्न भौगोलिक क्षेत्रमा बस्ने गुरुङहरूको भाषा र संस्कृतिमा समेत फरकपन हुने उल्लेख गर्दै गोरखा र लमजुङका गुरुङ भाषामा भिन्नता रहेको उदाहरण दिए।
चलचित्रको शीर्षक ‘रिमै’ को शाब्दिक अर्थ ‘छोरी–चेली’ हो। तर, यसलाई केही रुखो भाषामा ‘तरुनी’ भनेर पनि बुझिन्छ। गुरुङ समुदायमा कसैले ठट्टा गर्दै केटीलाई ‘रिमै’ भन्यो भने त्यसको आशय ‘तरुनी’ भन्ने हुने बताइएको छ।
चलचित्रकी ‘रिमै’, अर्थात् अभिनेत्री रिश्मा गुरुङ, आफ्नो समुदायमा छोरीको स्थान सबैभन्दा केन्द्रमा हुने बताउँछिन्। ‘अन्य समुदायमा बाबु वा आमाको निधन हुँदा अन्तिम संस्कार गर्न छोराको आवश्यकता पर्छ, छोरी नभए पनि काम चल्छ,’ रिश्माले भनिन्, ‘तर, गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ, छोरी भने अनिवार्य चाहिन्छ। छोरी उपस्थित नभएसम्म घरबाट शव उठाउनै मिल्दैन।’ यसबाटै गुरुङ समाजमा छोराभन्दा छोरीको महत्त्व कति धेरै छ भन्ने बुझ्न सकिने उनको भनाइ छ। यही बलियो कथावस्तुले आफूलाई यो चलचित्रमा काम गर्न प्रेरित गरेको रिश्माले बताइन्। उनी स्वयं गुरुङ भाषाकै चलचित्रबाट नेपाली मूलधार चलचित्रमा आएकी कलाकार हुन्।
दयाहाङ राईले नेपाली चलचित्रमा विभिन्न जाति र समुदायका कथाहरू आउन थालेकोमा खुसी व्यक्त गरे। उनले यस्ता कथाहरूले नै नेपाली सिनेमालाई समृद्ध बनाउने बताए। ‘‘रिमै’ ले नेपाली चलचित्रमा एउटा नयाँ आयाम थपेको छ,’ राईले थपे, ‘यसअघि गुरुङ भाषामा गुरुङका कथामा चलचित्रहरू बनेका थिए, तर नेपाली भाषामा मूलधारमा यसरी गुरुङ समुदायको कथामा चलचित्र बनेको थिएन।’
गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्र दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, बिरबल घले, डिवी गुरुङ, टेक गुरुङ तथा बाल कलाकार असीम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।
खिल बहादुर गुरुङ निर्देशित यो चलचित्रको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायाङ्कन शैलेन्द्र ध्वज कार्कीले गरेका छन्। बिरबल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता छन्। चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको सङ्गीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ।






