नेपाली चलचित्रमा नेवारी स्टार गायक रोजमान महर्जनको प्रवेश



काठमाडौं – नेपाली चलचित्र जगतमा एउटा नयाँ साङ्गीतिक आयाम थपिएको छ। लोकप्रिय नेवारी गायक रोजमान महर्जनले पहिलो पटक नेपाली चलचित्रको गीतमा आफ्नो आवाज दिएका छन्। अर्जुन घिमिरेको निर्देशनमा बन्दै गरेको चलचित्र ‘झरीपछि को इन्द्रेणी’ को एक विशेष गीतको रेकर्डिङसँगै रोजमान महर्जनले नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका हुन्।

हालै रेकर्ड गरिएको ‘धन्य धन्य लोकेश्वर’ बोलको भक्ति गीतमा गायक महर्जन र गायिका रत्न शोभा महर्जनको युगल स्वर सुन्न सकिन्छ। विशेष गरी ‘ऐला लुवया’ र ‘सालगु गाचा’ जस्ता नेवारी गीतबाट चर्चा कमाएका रोजमानले यो गीतबाट नेपाली भक्ति सङ्गीतलाई एक नयाँ स्वाद दिएका छन्।

यस गीतमा मौलिक नेपाली बाजाको प्रयोगले यसको महत्वलाई अझ बढाएको छ। गीतको सङ्गीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका छन् भने बाजा बजाउने कलाकारहरूमा बाँसुरीमा रुबिन श्रेष्ठ, खिन/मादलमा लक्ष्मी डङ्गोल, सितारमा राजीव श्रेष्ठ, र गिटारमा फेरि पनि सुरेन्द्र श्रेष्ठ नै छन्।

‘झरीपछि को इन्द्रेणी’ मा रोजमान महर्जनको गीतका अलावा अन्य दुई विशेष गीत पनि समावेश छन्। यसमा काठमाडौँका मेयर बालेन शाहको एक विशेष गीत र चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा रहेको अर्को गीत पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu