
काठमाडौं – असोज १३ गते फूलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’को शीर्ष गीतको ‘नृत्य प्रतियोगिता’मा दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छ। सोमबारदेखि सुरु भएको यस प्रतियोगिताको मुख्य पुरस्कार ५ लाख रुपैयाँ नगद रहेको छ।
चलचित्रका निर्माता रोहित अधिकारीले दर्शकहरूको सहभागिता देखेर आफूहरू अचम्मित र उत्साहित भएको बताए। ‘प्रतियोगिता सुरु भएको २४ घण्टा पनि नबित्दै दर्शकहरूले यति धेरै भिडियो पठाउनुभयो कि, हामी आफैँ चकित छौँ,’ उनले भने, ‘ओएसआर डिजिटलको सामाजिक सञ्जालमा २४ घण्टाभित्रै १५–२० लाख भ्युज आइसकेको छ, जसले हामीलाई अझ ऊर्जा मिलेको छ।’
प्रारम्भमा प्रथम हुनेलाई मात्र नगद पुरस्कार दिने घोषणा गरिएकोमा, दर्शकहरूको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै दोस्रो र तेस्रो स्थानमा आउनेलाई पनि पुरस्कार दिने निर्णय गरिएको छ। यसका साथै, सहभागी सबैलाई पनि खाली हात नफर्काउने निर्माता अधिकारीले बताए।
सञ्जीवनीको स्वर रहेको यो गीत पहिले नै लोकप्रिय बनिसकेको छ। सहभागीहरूले गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्मको खण्डमा नृत्य गरेर भिडियो पठाउनुपर्नेछ। गीतको भिडियोमा अभिनेत्री उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले दमदार नृत्य गरेका छन्। यसको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने छायाङ्कन मानकृष्ण महर्जन र सुशन प्रजापतिले गरेका छन्।
केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्ध तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, र सङ्गीता थापा लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको कथा चन्द्रकुमार दोङले लेखेका हुन्। यसको पटकथा र संवाद रामशरण पाठकले तयार पारेका छन्।
रबिन शेरचन र धिरज तामाङको लगानी रहेको यस चलचित्रका कार्यकारी निर्माताहरू ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन्। प्रतियोगिता असोज १२ गतेसम्म जारी रहनेछ।






