थानेश्वर र शारदाको स्वरमा ‘रिमै’ को गीत ‘छुटिसकेको’ सार्वजनिक



काठमाडौं – यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘रिमै’ को दोस्रो गीत ‘छुटिसकेको’ सार्वजनिक भएको छ। गायक थानेश्वर गौतम र गायिका शारदा रसाइली को मर्मस्पर्शी आवाजमा सजिएको यो गीतमा प्रसिद्ध कवि श्रवण मुकारुङ को गहन शब्द रचना रहेको छ। गीतलाई सङ्गीतकार नारायण दङ्गलले सङ्गीत संयोजन गरेका छन्।

सार्वजनिक भएको म्युजिक भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङ लाई देख्न सकिन्छ। भिडियोले दयाहाङको गहिरो प्रेम र रिश्माको पीडालाई भावपूर्ण रूपमा प्रस्तुत गरेको छ। निर्देशक खिल बहादुर गुरुङ का अनुसार यो गीत चलचित्रको कथावस्तुको अभिन्न हिस्सा हो।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स र रोटेपिङ इन्टरटेनमेन्टको संयुक्त निर्माणमा बनेको यस चलचित्रमा दयाहाङ र रिश्मासँगै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, बिरबल घले, डिबी गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकारहरू असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगर ले पनि यसमा महत्त्वपूर्ण भूमिका निभाएका छन्।

कवि तथा निर्देशक उपेन्द्र सुब्बा को पटकथा रहेको यस चलचित्रलाई शैलेन्द्र ध्वज कार्की ले छायाङ्कन गरेका हुन्। बिरबल घले कार्यकारी निर्माता रहेको यो चलचित्रलाई टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले ले निर्माण गरेका छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रूपमा रहेका छन्।

गुरुङ समुदायको संस्कृतिलाई केन्द्रमा राखेर बनाइएको ‘रिमै’ ले एक त्रिकोणात्मक प्रेम कथालाई पर्दामा उतारेको छ। यो चलचित्रले नेपाली दर्शकहरूलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu